हेटौंडाः हेटौंडा–१० स्थित तुलसी मेहर मेमोरियल स्कुल र नारायणी कलेजमा नयाँ व्यवस्थापनमा सञ्चालन भएको छ । सार्क एजुकेसन फाउण्डेसनले स्कुल तथा कलेजलाई नयाँ व्यवस्थापनका साथ सञ्चालन गर्ने भएको हो । सोमबार पत्रकार सम्मेलन गर्दै फाउण्डेसनका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण बस्नेतले स्कुल तथा कलेजलाई नयाँ किसिमले सञ्चालन गर्न लागेको बताउनुभयो ।
उहाँका अनुसार स्कुल र कलेजमा व्यवहारिक रुपमा अध्ययन अध्यापन गराइने छ । विद्यालयको नाम नै परिवर्तन गरेर केही नयाँ किसिमले विद्यार्थीलाई अध्यापन गराइने उहाँको भनाइ रहेको छ । तुलसी मेहर मेमोरियल स्कुल अबका दिनमा सार्क ओपन स्कुलको नामबाट र नारायणी कलेज सार्क विजनेस कलेजको नामबाट सञ्चालन हुने बस्नेतले जानकारी दिनुभयो ।
विद्यार्थीहरुलाई कक्षाकोठामा किताबका पाठ मात्र घोकाएर पढाउने पद्दतीलाई अन्त्य गरी हरेक कक्षाको हरेक विषयको प्रयोगशाला निर्माण गरी किताबमा भएका कुरालाई व्यवहारिक रुपमा अध्ययन गराउने तयारी रहेको उहाँले बताउनुभयो । यसका लागि विद्यालयमा भएका शिक्षकहरुलाई अन्तर्राष्ट्रियस्तरका प्रशिक्षकहरुबाट प्रशिक्षण पनि प्रदान गरिने बस्नेतले दावी गर्नुभएको छ ।
