Home मुख्य समाचार मनहरीमा आँखा केन्द्र नियमित सञ्चालनमा आउने

मनहरीमा आँखा केन्द्र नियमित सञ्चालनमा आउने

हेटौंडा सामुदायिक आँखा अस्पताल र मनहरी गाउँपालिकाबीच भएको सम्झौतापत्र आदानप्रदान गरिँदै ।

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा आँखा केन्द्र नियमित सञ्चालनमा आउने भएको छ । आँखा केन्द्र नियमित सञ्चालनका लागि मनहरी गाउँपालिका र हेटौंडा सामुदायिक आँखा अस्पतालबीच सम्झौता भएको छ । हेटौंडा सामुदायिक आँखा अस्पतालले नेपाल रेडक्रस सोसाइटी मनहरी उपशाखाको समन्वयमा साप्ताहिक रुपमा सामुदायिक आँखा केन्द्र सञ्चालन गर्दै आइरहेको थियो ।

सोही आँखा केन्द्रलाई स्तरोन्नति गरी दैनिक रुपमा आँखा केन्द्र सञ्चालनमा ल्याउन लागिएको हो । सम्झौतामा गाउँपालिकामा सञ्चालन गरिने आँखा केन्द्रमा २ जना स्वास्थ्य कर्मचारी राख्ने र कर्मचारीको तलब गाउँपालिकाले दिने गरी सम्झौता भएको सामुदायिक आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत सुधीर श्रेष्ठले जानकारी दिनुभयो । आँखा अस्पताल सञ्चालनमा लाग्ने प्राविधिक सहयोग र आवश्यक पर्ने स्वास्थ्य उपकरणहरु सामुदायिक आँखा अस्पतालले उपलब्ध गराउने श्रेष्ठले बताउनुभयो ।

हेटौंडा सामुदायिक आँखा अस्पतालका प्रमुख डा. सुनिल थकाली र मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले सोमबार सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । नेपाल आँखा कार्यक्रमका कार्यकारिणी सदस्य सिद्धिलाल श्रेष्ठ र मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीबीच सम्झौतापत्र आदानप्रदान गरिएको थियो ।

हेटौंडा सामुदायिक आँखा अस्पतालले १७ लाख रुपैयाँ बराबरको उपकरण आँखा केन्द्रमा प्रयोग गर्नेछ । ३ महिनाभित्र आँखा केन्द्र नियमित रुपमा सञ्चालन गरिने उहाँले बताउनुभयो । यसअघि मकवानपुरको बागमती गाउँपालिकामा पनि आँखा अस्पतालले आँखा केन्द्र सञ्चालन गर्नेबारे सम्झौता गरेको थियो ।

Exit mobile version