Home मुख्य समाचार बारामा पनि पुस्तकालय अभियान विस्तार हुने

बारामा पनि पुस्तकालय अभियान विस्तार हुने

पुस्तकालय स्थापनाका लागि तयारी गर्दै स्थानीय युवा ।

हेटौंडाः मकवानपुरका युवाले सुरु गरेको पुस्तकालय अभियान छिमेकी जिल्ला बारामा पनि विस्तार हुने भएको छ । साउन ३० गते शनिबार बारा जिल्लाको निजगढ नगरपालिका–६ मा पुस्तकालय स्थापना गरिने भएको छ । पुस्तकालय अभियान समूह मकवानपुरको अग्रसरतामा निजगढमा पुस्तकालय स्थापना गरिन लागेको हो ।

पठन संस्कृतिको विकास गर्ने उद्देश्यले मकवानपुरमा पुस्तकालय स्थापनाको अभियान गत जेठ २९ गतेबाट सुरुवात भएको हो । मकवानपुर जिल्लामा हालसम्म ६ वटा पुस्तकालय स्थापना भइसकेको छ । बारा जिल्लामा पनि पुस्तकालय अभियान सञ्चालन गर्न इच्छुक युवाको समूहलाई मकवानपुरमा सञ्चालित अभियानको जानकारी गराउँदै बारा जिल्लामा अभियान सञ्चालन गर्न प्रेरित गर्ने गरी पुस्तकालय स्थापना गर्न लागिएको पुस्तकालय अभियान समूह मकवानपुरका सदस्य सुरेश श्रेष्ठले जानकारी दिनुभएको छ ।

निगजढ–६, सडकटोलमा स्थापना हुने पुस्तकालयको नाम पाना पुस्तकालय राखिएको छ । अभियान सुरुवात गर्न स्थानीय युवासहित निजगढ स्थायी ठेगाना भई विभिन्न स्थानमा रोजगारीको सिलसिलामा रहेका युवाबाट ५० हजार रुपैयाँ सहयोग संकलन गरी पुस्तक खरिद गरेर पुस्तकालय स्थापना गरिन लागेको अभियानका सदस्य सुरेश श्रेष्ठले बताउनुभएको छ ।

स्थानीय युवाको सक्रियतामा स्थापना हुन लागेको पुस्तकालयका लागि वडा कार्यालयले ५० हजार रुपैयाँ सहयोग गर्ने निश्चित भइसकेको पुस्तकालय अभियान समूहका सदस्य कैलाश धितालले जानकारी दिनुभएको छ । स्थानीय युवाले बारा जिल्लाभर पुस्तकालय अभियान विस्तार गर्ने योजना बनाएको धितालले बताउनुभएको छ ।

Exit mobile version