Home मुख्य समाचार प्रदेश डिभिजन कार्यालय हेटौंडाको विद्युत् चुहावट ७.७२ प्रतिशत

प्रदेश डिभिजन कार्यालय हेटौंडाको विद्युत् चुहावट ७.७२ प्रतिशत

हेटौंडाः नेपाल विद्युत् प्राधिकरणको बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडाको गत आर्थिक वर्षमा विद्युत् चुहावट घटेको छ । प्रदेश डिभिजन कार्यालयअन्तर्गतका ६ वितरण केन्द्रहरुको चुहावटमा कमी आएको हो ।

आर्थिक वर्ष २०७६/०७७ मा डिभिजन कार्यालयको विद्युत् चुहावट ८.०८ प्रतिशत रहेकोमा गत आर्थिक वर्ष २०७७/०७८ मा ७.७२ प्रतिशतमा झरेको हो । ६.३७ प्रतिशतमा झार्ने लक्ष्य लिएपनि डिभिजन कार्यालयले आफ्नो लक्ष्य भने भेटाउन सकेन ।

नेपाल विद्युत् प्राधिकरण प्रदेश डिभिजन कार्यालय हेटौंडा मातहतमा मकवानपुर, चितवन र सिन्धुली ३ जिल्लाका ६ वटा वितरण केन्द्र पर्दछन् । प्रदेश डिभिजन कार्यालय हेटौंडाअन्तर्गत् हेटौंडा वितरण केन्द्र, पालुङ वितरण केन्द्र, टाँडी वितरण केन्द्र, भरतपुर वितरण केन्द्र, चनौली र सिन्धुली वितरण केन्द्र पर्दछन् ।विद्युतको प्रसारणका क्रममा प्राविधिक त्रुटिका कारण केही प्रतिशत विद्युत् चुहावट हुने गरेको प्रदेश डिभिजन कार्यालयका इन्जिनियर प्रितम विष्टले बताउनुभयो ।

मकवानपुरको उत्तरी क्षेत्रमा रहेको नेपाल विद्युत् प्राधिकरणको पालुङ वितरण केन्द्रमा विद्युत् चुहावट भने गत वर्षमा उल्लेख्य बढेको छ । गत आर्थिक वर्ष २०७७/०७८ मा पालुङ वितरण केन्द्रमा विद्युत् चुहावट बढेको हो । पालुङ वितरण केन्द्रले विद्युत् चुहावटलाई गत वर्षमा ७.५ प्रतिशतमा झार्ने लक्ष्य लिएपनि आर्थिक वर्ष २०७६/०७७ मा ८.३५ प्रतिशत चुहावट रहेकोमा गत वर्ष विद्युत् चुहावट २६.५५ प्रतिशत पुगेको हो ।

पालुङ वितरण केन्द्रले गत वर्षमा ६८ लाख ६७ हजार ७ सय ४० युनिट बिजुली लिएको थियो । उसले ५० लाख ४४ हजार ७५ युनिट विद्युत् बिक्री गरेको छ । झन्डै १८ लाख २३ हजार ६ सय ६५ युनिट बिजुलीको रकम उक्त केन्द्रले गुमाएको छ । पालुङ वितरण केन्द्रमा विद्युत् चुहावट आर्थिक वर्ष २०७३/०७४ मा २०.३४ प्रतिशत रहेको थियो । पछि घट्दै २०७६/०७७ मा ८.३५ प्रतिशतसम्म पुगेको थियो ।

बागमती प्रदेशमा २० वटा वितरण केन्द्र रहेपनि अन्य वितरण केन्द्रहरुको नियन्त्रण उपत्यकाको प्रादेशिक डिभिजन कार्यालयबाट हुँदै आएको छ । डिभिजन कार्यालय हेटौंडाअन्तर्गत्को चनौली वितरण केन्द्रमा भने विद्युत् चुहावट घटेको छ । आर्थिक वर्ष २०७६/०७७ मा १६.३६ प्रतिशत चुहावट रहेको केन्द्रमा गतवर्ष १४.५१ प्रतिशतमा झरेको छ । १२ प्रतिशतमा बिजुली चुहावट झार्ने लक्ष्य रहेको थियो ।

सिन्धुलीमा पनि गत वर्षमा विद्युत् चुहावट ह्वात्तै बढेको छ । आर्थिक वर्ष २०७६/०७७ मा चुहावट बढेर १६.५२ प्रतिशतमा पुगेको छ । सिन्धुली वितरण केन्द्रले गत वर्ष २ करोड ४६ लाख ५० हजार ६ सय २ युनिट बिजुली लिएको थियो । उसले २ करोड ५ लाख ७७ हजार एक सय २ युनिटमात्र बिक्री गरेको छ । ४० लाख युनिट बिद्युत्बाट प्राप्त हुने आम्दानी उक्त केन्द्रले गुमाएको छ । गत वर्षमा ६ प्रतिशतमा चुहावट झार्ने लक्ष्य लिएकोमा बढेर १६.५२ प्रतिशत पुगेको हो ।

यसैगरी मकवानपुरको हेटौंडा वितरण केन्द्रमा पनि विद्युत् चुहावट गत वर्षमा केही बढेको छ । गत वर्षमा विद्युत् चुहावट ५.११ प्रतिशत पुगेको छ । हेटौंडा वितरण केन्द्रले गत वर्ष २७ करोड ४० लाख ६९ हजार १ सय ९२ युनिट विद्युत् लिएको थियो । उसले २६ करोड ६८ हजार ३ सय ७३ युनिटमात्र बिक्री गरेको छ । एक करोड ४० लाख ८ सय १९ युनिट विद्युत् बिक्रीबापत् हुने आम्दानी हेटौंडा वितरण केन्द्रले गुमाएको छ ।

चितवनको टाँडी वितरण केन्द्रमा भने विद्युत् चुहावट १२.७७ प्रतिशतमा झरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा १६.५३ प्रतिशत चुहावट रहेकोमा गत वर्षमा चुहावट नियन्त्रण भएको देखिन्छ । टाँडी वितरण केन्द्रले गत वर्षमा चुहावटलाई १२.५० प्रतिशतमा झार्ने लक्ष्य पूरा गरेको छ । यसैगरी चितवनको भरतपुर वितरण केन्द्रमा पनि चुहावट दर घटेको छ । गत वर्षमा ५.४८ प्रतिशतमात्रै विद्युत् चुहावट भएको छ ।

Exit mobile version