Home मुख्य समाचार बागमती प्रदेशमा पर्याप्त कानुन निर्माण

बागमती प्रदेशमा पर्याप्त कानुन निर्माण

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तस्बिर

हेटौंडाः बागमती प्रदेशमा पर्याप्त कानुनहरु निर्माण भएको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । कानुन मन्त्रालयले पहिचान गरेको ९९ कानुनमध्ये हालसम्म ६१ वटा बनिकसेको छ । प्रदेश सरकारले हालसम्म ५० वटा ऐन जारी गरेको छ भने ११ वटा ऐन संशोधन गरेको छ ।

यस्तै, प्रदेश सरकारले ३ वटा अध्यादेश जारी गरेकोमा सबै ऐन बनेर राजपत्रमा प्रकाशित भइसकेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन शाखाका सहसचिव नारनप्रसाद पोखरेलले बताउनुभयो ।

बागमती प्रदेश सरकारले कामलाई सहज बनाउन प्रदेश लोकेवा आयोग ऐनको पहिलो संशोधन २०७६ मा अध्यादेशमार्फत् ल्याएको थियो । यस्तै, वातावरणसम्बन्धी अध्यादेश २०७७ र प्रदेश आर्थिक कार्यविधिको पहिलो संशोधन २०७७ अध्यादेशमार्फत् ल्याएका थियो । प्रदेश सरकारले ल्याएको अध्यादेश हालसम्म राजपत्रमा प्रकाशित भएको तीनवटा मात्रै भएको मन्त्रालयका सहसचिव पोखरेलले बताउनुभयो ।

अझै केही कानुनहरु निर्माण हुन बाँकी छन् । प्रदेशमा अहिले पर्याप्त कानुनहरु निर्माण भइसकेका कारण अब आवश्यकताअनुसार ऐनहरु निर्माण गरिँदै जाने उहाँको भनाई छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले अहिले प्रदेश अनुसन्धान ब्यूरोसम्बन्धी विधेयक निर्माण गरेर मन्त्रिपरिष्दमा पठाएको सहसचिव पोखरेलले जानकारी दिनुभयो । यसैगरी केही ऐनको संशोधन गर्न आवश्यक देखिएकाले त्यसको मन्त्रालयले तयारी गरेको उहाँले बताउनुभयो ।

बागमती प्रदेश सरकारले हालसम्म २० नियमावली राजपत्रमा प्रकाशित गरको छ । जसमा ९ संशोधनसमेत भइसकेको छ । यसैगरी एक विनियमावली निर्माण गरेकोमा त्यो पनि संशोधन भइसकेको छ । निर्देशिका २ मध्ये एक संशोधन, कार्यविधि १७ जारी भएकोमा २ संशोधन, २ मापदण्ड जारी तथा ७ आदेश जारीमध्ये ४ वटा आदेशको संशोधन भएको मन्त्रालयले जनाएको छ । दुई आदेश भने खारेजी भएको सहसचिव पोखरेलको भनाई छ ।

संसदलाई बिजनेश दिन सकिन्छ
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश संसदलाई बिजेनेश दिन सकिने जनाएको छ । प्रदेश संसदलाई सञ्चालन हुन आवश्यक बिजनेश नभए ऐनहरु संशोधन तथा नयाँ निर्माण हुने क्रममा रहेका कारण मन्त्रालयले बिजनेश दिनसक्ने सहसचिव पोखरेलले बताउनुभयो । उहाँका अनुसार धेरै ऐनहरु बन्न संघीय ऐन पहिले बन्नुपर्ने देखिएको छ । अहिले प्रदेशमा प्रदेश निजामती ऐन बन्न आवश्यक भएपनि संघीय सरकारले नबनाएकाले अघि नबढेको उहाँले बताउनुभयो ।

प्रदेशमा कानुनहरु छिट्टो निर्माण गरिएपनि पटकपटक संशोधन गर्नुपरेको छ । मन्त्रालयले करिब १३ ऐनहरु फेरि संशोधन गर्ने तयारी गरेको छ । कतिपय ऐन, कानुनहरु संघीय सरकारले बनाउन ढिलाई गर्दा प्रदेश तहमा निर्माण हुन ढिलाई भएको छ ।

लोकसेवा आयोग ऐन बनेर कार्यान्वयनमा आइसक्दा पनि निजामती सेवा ऐन नबन्दा कर्मचारीहरुको वृत्ति विकासमा समस्या हुने पोखरलेले बताउनुभयो । ऐन नबन्दा प्रदेशका कर्मचारीको सरुवा, बढुवाजस्ता वृत्तिविकासमा कानुनी बाधा पुग्ने देखिन्छ । तर अब प्रदेश सरकारले आवश्यक कानुन निर्माण गरेकाले समयअनुसार कानुनहरु निर्माण गर्दै अघि बढ्ने उहाँले बताउनुभयो ।

संघीय कानुनहरु पनि धेरै छन् । प्रदेशको पनि धेरै ऐन बनाउनुभन्दा भएका कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । अहिले विश्वविद्यालयको संरचना आवश्यक भएकाले उच्च शिक्षा विधियेक तयार पारिएको भन्दै आवश्यकताअनुसार ऐनहरु बनाउन सकिने उहाँको भनाई छ । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रदेश सार्वजनिक सडक ऐन राजपत्रमा प्रकाशित गरेको छ ।

Exit mobile version