Home मुख्य समाचार अंग्रेजी शिक्षकहरुका लागि तालिम सुरु

अंग्रेजी शिक्षकहरुका लागि तालिम सुरु

हेटौंडाः नेपाल इङ्लिस ल्याङ्ग्वेज टिचर्स एसोसिएसन (नेल्टा) बागमती प्रदेशको आयोजनामा शनिबारबाट अंग्रेजी विषय शिक्षकहरुका लागि अनलाइन तालिम सुरु भएको छ । तालिममा नेल्टाका जिल्ला, प्रदेश र केन्द्रीय पदाधिकारी, आजीवन सदस्य तथा विभिन्न तहमा अध्यापन गर्ने करिब २ सय ५० जना अंग्रेजी शिक्षक सहभागी भएका छन् ।

नेल्टा बागमती प्रदेशका अध्यक्ष गणेश हुमागाईंको सभाध्यक्षता रहेको तालिम उद्घाटन कार्यक्रममा नेल्टाका केन्द्रीय अध्यक्ष मोतीकला सुब्बा देवानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेल्टा केन्द्रीय समिति तथा प्रदेश समितिका पधाधिकारी एवम् सदस्यहरु, नेल्टा सेन्टरका प्रोग्राम कोअर्डिनेटर, एक्सेस प्रोग्राम कोअर्डिनेटरलगायत विभिन्न जिल्लाका अध्यक्षहरुको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन नेल्टा बागमती प्रदेशका महासचिव किशोर पराजुलीले गर्नुभएको थियो ।

तालिम कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम अधिकृत शंकर अधिकारी, नेल्टाका वरिष्ठ उपाध्यक्ष प्रा. डा. लक्ष्मण ज्ञवाली, अंग्रेजी पाठ्यपुस्तक लेखक विश्वराज जोशी, नेल्टा केन्द्रका पूर्वतालिम संयोजक सरिता देवानलगायतले सहजीकरण गर्नुहुनेछ ।

अहिलेको विषम परिस्थितिको समयलाई सदुपयोग गर्दै नेल्टा बागमती प्रदेशले आयोजना गरेको यो कार्यक्रममा विभिन्न तहमा अध्यापन गर्ने अंग्रेजी शिक्षकहरुको पेशागत विकासको लागि हरेक शनिबार बिहान ७ः३० देखि ९ बजेसम्म यो तालिम सञ्चालन हुने जनाइएको छ । सम्बन्धित विषयमा उच्च दक्षता हासिल गरेका राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय प्रशिक्षकहरुले प्रशिक्षण दिने तालिम अंग्रेजी अध्यापन गर्ने शिक्षकहरुका लागि धेरै नै उपयोगी हुने तालिमका सहभागीहरुको विश्वास छ ।

विषम परिस्थितिको समयलाई सदुपयोग गरी शिक्षकहरुका लागि अत्यन्तै उपयोगी अनलाइन तालिम सुरु गरी सो तालिममा भाग लिने अवसर प्रदान गरेकोमा सहभागीहरुले नेल्टा बागमती प्रदेशलाई धन्यवाद दिएका छन् । तालिमलाई अत्यन्त व्यवस्थित, मर्यादित र प्रभावकारी ढंगबाट सञ्चालन गर्न प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सहयोग पुर्‍याउनुहुने सम्पूर्ण महानुभावहरुलाई आयोजकले धन्यबाद दिएको छ ।

Exit mobile version