Home मुख्य समाचार मकवानपुरगढीको नीति तथा कार्यक्रममा स्वास्थ्य

मकवानपुरगढीको नीति तथा कार्यक्रममा स्वास्थ्य

हेटौंडाः मकवानपुरगढी गाउँपालिकाले गत असार १० गते गाउँसभामा आगामी आर्थिक वर्षको नीति, कार्यक्रमसँँगै करिब ६३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । स्वास्थ्य सेवालाई विश्वासिलो र भरपर्दाे बनाउने तथा गाउँमा बस्ने जनताले आधारभूूत स्वास्थ्य उपचार सेवा सजिलै गाउँबाट नै पाउन सकुन् भन्ने उद्देश्यले स्वास्थ्य क्षेत्रका कार्यक्रमलाई बजेटले प्राथमिकता दिएको भए पनि बजेट रकम उल्लेख गरिएको छैन ।

गाउँपालिकाले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा हेल्थपोष्ट तथा सामुदायिक स्वास्थ्य इकाईहरुलाई अत्यावश्यक स्वास्थ्य उपकरण थप गर्दे क्रमशः सुविधायुक्त बनाउँदै लगिने बताइएको छ । प्रत्येक स्वास्थ्य संस्थामा आधारभूूत स्वास्थ्य सेवाका लागि आवश्यक पर्ने उपकरण व्यवस्थापन गरिने भएको छ । प्रत्येक घरलाई स्वास्थ्य बिमा कार्यक्रममा सहभागी गराउन स्वास्थ्य बिमा गर्ने कर्मचारी तथा स्वयम्सेविकालाई पूूर्णरुपमा परिचालन गरी स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाइने भएको छ ।

विश्वव्यापी फैलिएको कोभिडको दोस्रो भेरिएन्ट तथा सम्भावित थप संस्करणको प्रभावलाई न्यूूनीकरण गर्न सचेतनामूूलक अभियान तथा प्राविधिकरुपमा थप प्रभावकारी कार्यक्रम अगाडि बढाइने मकवानपुरगढी गाउँपालिकाले नीति तथा कार्यक्रम ल्याएको छ । किशोरी स्वास्थ्यलाई आवश्यक पर्ने सेनिटरी प्याड र बालबालिका जन्मनेबित्तिकै चाहिने न्यानो झोलालगायत अन्य सम्भावित सामग्री स्थानीय स्तरमा नै गुणस्तरीयरुपमा उत्पादन गरी वितरण गर्न प्रोत्साहन गरिने भएको छ ।

कोभिड १९ को दोस्रो भेरिएन्टबाट भएको प्रभाव र क्षतिलाई कम गर्न सचेत बनाउँदै स्वास्थ्यका मापदण्डको परिपालना गराई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गरिनेछ । सबै पक्षसँग समन्वय गरी कोभिडको सम्भावित तेस्रो भेरिएन्टको प्रभावलाई कम गर्न सचेत गराई त्यसको तयारी गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । कोभिड अस्थायी अस्पताल तथा आइसोलेसन वार्डको क्षमता वृद्धि गरी थप सुविधासम्पन्न गराइनेछ ।

मकवानपुर जिल्लाका स्थानीय तहहरुसँग समन्वय, सहकार्य र प्रदेश सरकारसमेतको सहयोगमा एक सुविधासम्पन्न सरुवा रोग अस्पातल निर्माण गर्ने महत्वपूर्ण अभियानलाई अगाडि बढाउने नीति गाउँपालिकाले लिएको छ । यसका लागि आवश्यक बजेट विनियोज गरिने भएको हो । कोभिडका संक्रमितहरुलाई राख्ने आइसोलेसन व्यवस्थित गर्ने र गाउँपालिकासम्म ल्याउन उनीहरुको आत्मबल बढाउन सहयोग गर्नुका साथै विभिन्न परीक्षणमा सहजीकरण गरिने सार्वजनिक नीति तथा कार्यक्रममा जनाइएको छ ।

स्वास्थ्य केन्द्र वा हेल्थपोष्ट नभएका सबै वडामा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन अघिल्लो आर्थिक वर्षमा सुरु भएको सामुदायिक स्वास्थ्य इकाईलाई आवश्यकताअनुसार थप जनशक्ति र भौतिक स्रोत साधनयुक्त बनाउन स्रोतको खोजी तथा प्रदेश र संघीय सरकारसँग अनुरोध गर्दै थप प्रभावकारी बनाइने भएको छ ।

स्वास्थ्य सेवा प्रभावकारीरुपमा गाउँमा नै उपलब्ध गराउने, अतिविपन्न वर्गका जनताले सजिलै स्वास्थ्य उपचारमा पहु“च राख्न सकुन् भन्ने उद्देश्यले गाउँपालिकाले १५ शैयाको अस्पातल बनाउन संघीय सरकारको विशेष अनुदानमा प्रक्रिया थालनी गरिएको छ । आगामी वर्षभित्र उक्त अस्पताल निर्माण सम्पन्न गरी शिशु,, बाल, मातृ मृत्युदर घटाउने र महिलाको प्रजनन स्वास्थ्यमा सुधार ल्याउन वर्थिङ सेन्टरमा प्रसुति गराउने व्यवस्थालाई प्रभावकारी बनाउने नीति तथा कार्यक्रम छ ।

यसका लागि नेपाल सरकारबाट प्राप्त हुने २ हजार ८ सय सुत्केरी प्रोत्साहन भत्तामा गाउँपालिकाको आन्तरिक आयबाट एक हजार ५ सय थप गरी ४ हजार ३ सय रुपैयाँ उपलब्ध गराउँदै आएकोमा आगामी आर्थिक वर्षमा ७ सय थप गरी ५ हजार रुपैयाँ उपलब्ध गराइनेलगायत स्वास्थ्य क्षेत्रको नीति तथा कार्यक्रम मकवानपुरगढी गाउँपालिकाले प्रस्तुत गरेको छ ।

Exit mobile version