Home मुख्य समाचार बकैयाको नीति तथा कार्यक्रममा शिक्षा, पुरानालाई निरन्तरतासँगै नयाँ कार्यक्रम समावेश

बकैयाको नीति तथा कार्यक्रममा शिक्षा, पुरानालाई निरन्तरतासँगै नयाँ कार्यक्रम समावेश

हेटौंडाः मकवानपुर जिल्लाको पूर्वी क्षेत्रमा रहेको बकैया गाउँपालिकाले बिहीबार आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष सरला बोलखेले ६२ करोड ८३ लाख ७८ हजार ७ सय १९ रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो ।

‘समृद्ध बकैया निर्माणको मूल आधारः स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र वातावरणमैत्री पूर्वाधार’को दीर्घकालीन सोच पूरा गर्नेतर्फ प्रतिवद्ध रही गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रमअन्तर्गत् शिक्षा क्षेत्रमा केही पुराना कार्यक्रमलाई निरन्तरतासँगै केही नयाँ कार्यक्रम समावेश गरिएको छ ।

गाउँपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयको शिक्षाको बीचमा देखिएको खाडल कम गर्न शैक्षिक शत्र २०७६ देखि सुरु भएको आधारभूत तहमा अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने कार्यक्रमलाई थप विद्यालयमा विस्तार गरिने भएको छ । सामुदायिक विद्यालयका शिक्षकहरुलाई बालमैत्री पठनपाठनसम्बन्धी क्षमता विकास तालिम सञ्चालन गरी बालमैत्री कक्षाको व्यवस्थापन गर्नुका साथै विषय शिक्षकहरुको समूहमा गाउँपालिकास्तरमा शिक्षण सिकाईसम्बन्धरु नमुना कक्षाको व्यवस्था गरिने भएको हो ।

यस्तै, विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघका पदाधिकारीहरु, प्रारम्भीक बालविकास सहजकर्ता, प्रधानाध्यापक, विषय शिक्षक, गाउँ शिक्षा समितिहरुलाई आ–आफ्नो भूमिका, उत्तरदायित्व, सीप विकासलगायत जिम्मेवारी बहन गराउन तालिम, सेमिनार, गोष्ठीहरु सञ्चालन गरिने भएको छ । विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालय शिक्षामा ल्याउनका लागि विशेष प्रोत्साहन कार्यक्रम सञ्चालन गरिनेछ ।

स्रोत विद्यालय, सामुदायिक विद्यालय र अन्य विद्यालयहरुमा भौतिक पूर्वाधार, विज्ञान प्रयोगशाला, जनशक्तिलगायतको उचित व्यवस्थापन गरिने भएको हो । प्रत्येक वडाका कम्तिमा १–१ विद्यालयलाई नमूना विद्यालयको रुपमा विकसित गरी अघि बढाइने भएको छ । त्यसैगरी आवासीय विद्यालयहरुको सुरुवात गरिने भएको छ । कोभिड–१९ बाट भएको शैक्षिक क्षति न्यूनीकरणका लागि सिकाई प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने भएको छ । जसका लागि वैकल्पिक शिक्षण सिकाई गरिने भएको हो ।

गाउ“पालिकाभित्र रहेका सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दी मिलान कार्यलाई निरन्तरता दिइने भएको छ । साथै दरबन्दी मिलान गर्दासमेत दरबन्दी अपुग भएको अवस्थामा कार्यविधि निर्माण गरी त्यस्ता विद्यालयहरुलाई विशेष अनुदान दिने मार्गमा अघि बढाउने भएको हो । जुन विद्यार्थी संख्याको आधारमा विद्यालय समायोजनको नीति लिइने भएको छ । यस्तै प्रसुति बिदामा बसेका शिक्षकको सट्टा शिक्षक व्यवस्थापनलाई निरन्तरता दिइने गाउ“पालिकाको नीति तथा कार्यक्रममा सार्वजनिक गरिएको छ ।

गाउँपालिकाभित्रका सामुदायिक विद्यालय सबलीकरण नीति अवलम्बन गरिने कार्य अगाडि बढाइने भएको छ । हरित विद्यालयको अवधारणा, बालमैत्री विद्यालय र विद्यार्थी सिकाउ–टिकाउ कार्यक्रमलाई निरन्तरता भएको छ । प्राविधिक शिक्षा तथा उच्च शिक्षाका लागि जेहेन्दार छात्रवृत्ति कार्यक्रम निरन्तररुपमा सञ्चालन गरिनेछ । गाउ“पालिकाभित्र प्राविधिक शिक्षा निःशुल्क उपलब्ध गराइने भएको हो ।

बालमैत्री कार्यक्रमहरु सञ्चालनका लागि बालकोषको स्थापना गरिनेछ । स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याइने कुरा समेटिएको छ । कक्षा ११ र १२ सञ्चालित सामुदायिक माध्यमिक विद्यालयलाई थप अनुदानको व्यवस्था गरिने भएको छ । बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीहरुको तलबमान संघीय सरकारको नीतिअनुरुप कार्यान्वयन गरिँदै लगिने भएको छ ।

जहाँ विद्यार्थी त्यहाँ शिक्षक भन्ने नारालाई सार्थक बनाई शैक्षिक गुणस्तर अभिवृद्धि गर्न विषयगत, तहगत शिक्षक, कर्मचारी, बालविकास शिक्षक व्यवस्थापन गरिने भएको छ । स्रोत शिक्षकको व्यवस्थापनलाई निरन्तरता दिने कुरा सहित शिक्षाका क्षेत्रमा २२ वटा बुँदामा गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले शिक्षा क्षेत्रको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि विनियोजन गरिएको बजेटबारे विस्तृत विवरण भने उल्लेख गरिएको छैन ।

Exit mobile version