हेटौंडाः हेटौंडा–७, नागस्वतीमा शनिबार पुस्तकालय उद्घाटन गरिएको छ । पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तकालय अभियान समूह, मकवानपुरको सहयोगमा पुस्तकालय स्थापना भई उद्घाटन गरिएको हो । पुस्तकालय अभियान समूह, मकवानपुरले हेटौंडा–७, नागस्वतीस्थित समृद्ध युवा कोषले स्थापना गरेको समृद्ध पुस्तकालयलाई ५० हजार रुपैयाँ बराबरको १६० थान पुस्तक हस्तान्तरण गरेसँगै पुस्तकालय उद्घाटन गरिएको छ ।

पुस्तकालय अभियान समूह, मकवानपुरले स्थानीय समुदायको सहभागिता र अग्रसरतामा पुस्तकालय स्थापना गर्न प्रस्ताव आए ५० हजार रुपैयाँ बराबरको पुस्तक सहयोग गर्ने जनाएको छ । पुस्तकालय उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ७ नम्बर वडा अध्यक्ष राजन थापाले आफ्नो व्यक्तिगततर्फबाट ३० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । यस्तै उहाँले वडा कार्यालयको बार्षिक बजेटबाट २ लाख रुपैयाँ उपलब्ध गराउने बताउनुभएको छ । पठन संस्कृतिको विकास गरी सभ्य समाज निर्माणमा योगदान पुग्ने उल्लेख गर्नुहुँदै व्यक्तिगत तथा वडाको तर्फबाट निरन्तर सहयोग हुने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
पहिलो पुस्तकालय उद्घाटनको अवसरमा पुस्तकालय अभियान समूह, मकवानपुरका सदस्य सुरेश श्रेष्ठले पठन संस्कृतिको विकास गर्न स्थानीय सरकारलाई प्रेरित गर्ने उद्देश्यले अभियान नै सुरुवात गरिएको बताउनुभयो । पुस्तकालय अभियान समूहले स्थानीय समुदायको सक्रियतामा पुस्तकालय स्थापना भए ५० हजार रुपैयाँ बराबरको पुस्तक सुरुवातमै सहयोग गर्ने र पुस्तकालयको संस्थागत विकास, क्षमता अभिवृद्धि र निरन्तर सञ्जालनमा पनि आवश्यक सहजीकरण गरिने श्रेष्ठले बताउनुभयो । पुस्तकालय उद्घाटन कार्यक्रममा वरिष्ठ पत्रकार प्रताप विष्टले पुस्तकालय अभियान अनुकरणीय भएको र समाजलाई सही दिशामा अग्रसर गराउन महत्वपूर्ण हुने बताउनुभयो ।
समृद्ध पुस्तकालयलाई स्थानीयवासी एवम् जनसरोकार केन्द्र मकवानपुरका अध्यक्ष ध्रुब चौलागाईले ४० हजार रुपैयाँ सहयोग गर्नुभयो । उहाँले नागरिकलाई सचेत र जिम्मेवार बनाउन पठन संस्कृतिको विकास जरुरी रहेको औँल्याउनुभयो । समृद्ध पुस्तकालयलाई स्थानीयवासी एवम् हेटौंडाबाट प्रसारण हुने टिम टेलिभिजन प्रालिका अध्यक्ष नवराज खतिवडाले ३ वर्षका लागि वार्षिक तीस हजार रुपैयाँ बराबरको इन्टरनेट सेवा उपलब्ध गराउनुभएको छ । कार्यक्रममा टोेल विकास संस्था हेटौंडा उपमहानगर समन्वय समितिका संयोजक ध्रुब अधिकारीले पुस्तकालय अभियानलाई स्थानीय टोल विकास संस्थाहरुमार्फत व्यापक र विस्तार बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
समृद्ध युवा कोषका अध्यक्ष युवराज गौतमले पुस्तकालय अभियानको पहिलो पुस्तकालयलाई जिल्लाकै उत्कृष्ट पुस्तकालयको रुपमा विकसित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पुस्तक हस्तान्तरण तथा पुस्तकालय उद्घाटन कार्यक्रममा पुष्पलाल स्मृति पुस्तकालय सञ्चालन गरिरहेको साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिल, रोशनी पुस्तकालयका अध्यक्ष संगीत श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।
समृद्ध पुस्तकालयका लागि ५० हजार रुपैयाँ बराबरको पुस्तक खरिद गर्न अभियानका सदस्यहरु सुरेश श्रेष्ठ, सुशील राज गिरी, नरेन्द्र भण्डारी, विनोद दहाल, सुदीप राज गिरी, अर्चना ढुंगाना, रमेश घिमिरे, संगीत श्रेष्ठ, प्रकाश नेपाल र कैलाश धितालले जनही ५ हजार रुपैयाँ सहयोग गरेका छन् ।