Home मुख्य समाचार मकवानपुरमा निषेधाज्ञाको एक महिनाः मास्क नै नलगाउने ५५० जनालाई कारवाही

मकवानपुरमा निषेधाज्ञाको एक महिनाः मास्क नै नलगाउने ५५० जनालाई कारवाही

त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसेमा ट्रक चालकलाई मास्क वितरण गर्दै प्रहरी । फाइल तस्वीर ।

हेटौंडाः कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न मकवानपुर जिल्लामा निषेधाज्ञा जारी गरिएको एक महिना भएको छ । निषेधाज्ञा भएको एक महिना बितिसक्दा पनि जिल्लामा सोचेअनुरुप कोरोना नियन्त्रण हुन सकेको छैन ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले गत बैशाख २० गते निषेधाज्ञा जारी गर्दै सबैलाई घरमै बस्न आग्रह गरेपनि मकवानपुरका बासिन्दाले उक्त निर्णयलाई अटेर गरेको देखिएको छ । निषेधाज्ञा अटेर मात्र नभई कोरोनाबाट बच्न कम्तिमा पनि मास्क लगाउन भनिरहँदा मास्क नै नलगाई हिँड्ने मकवानपुरका ५ सय ५० जनालाई प्रहरीले एक महिनामा कारवाही गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रदान गरेको तथ्याङ्क अनुसार निषेधाज्ञाको एक महिनामा जिल्लाका विभिन्न स्थानमा प्रहरीले सुरक्षा जाँच गर्दा मास्क नै नलगाई हिँडडुल गरेका ५ हजार ९ सय १ जनालाई सम्झाई बुझाई गरी मास्क लगाउन आग्रह गरिएको छ । आग्रह गर्दा पनि मास्क लगाउन अटेर गर्ने ५ सय ५० जनालाई कारवाही नै गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

यस्तै निषेधाज्ञा उल्लङ्घन गर्ने २ हजार ८ सय २३ सवारीलाई होल्डमा राखी छाडिएको तथा २ सय ९६ सवारीलाई कारवाही गरिएको समेत जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी एक महिनाको अवधीमा निषेधाज्ञा उल्लङ्घन गरेका १ सय ५१ जना मानिसलाई नियन्त्रणमा लिएर सम्झाई बुझाई गरिएको तथा ७७ जनालाई कारवाही नै गरिएको पनि कार्यालयले जानकारी दिएको छ ।

Exit mobile version