Home मुख्य समाचार नागरिकको संवैधानिक हक स्थापित गर्न प्रेस स्वतन्त्रता

नागरिकको संवैधानिक हक स्थापित गर्न प्रेस स्वतन्त्रता

सन्दर्भः विश्व प्रेस स्वतन्त्रता दिवस

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूका लागि आज महत्वपूर्ण दिन हो । आज संसारभर प्रेस स्वतन्त्रताको महत्वका बारेमा चर्चा गरिँदैछ । सन् १९९३ मा नामिवियाको विण्डहकमा एउटा सम्मेलन भएको थियो, जसमा वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापकहरू र स्वतन्त्रताका पक्षपातीहरूको सहभागिता रहेको थियो । त्यो सम्मेलनले एउटा महत्वपूर्ण घोषणपत्र जारी गर्‍यो । घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वन्त्रताको पक्षमा बलियो प्रतिवद्धता जनाइएको थियो भने स्वतन्त्र र बहुलवादी प्रेसका पक्षमा सो सम्मेलनले आफूलाई प्रष्टरूपमा उभ्याएको थियो ।

त्यही घोषणापत्र जारी भएको दिन अर्थात मे ३ लाई युनेस्कोको आव्हानमा विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउन थालिएको हो । विण्डहक घोषणापत्रलाई संयुक्त राष्ट्रसंघको सभाले पारित गरेपछि युनेस्कोले त्यस्तो आव्हान गरेको हो । प्रत्येक वर्ष फरक फरक नाराका साथ यो दिवस मनाउने क्रममा यो पटक ‘सार्वजनिक सम्पत्तिका रूपमा सूचना’ भन्ने नारा तय गरिएको छ ।

विपुल पोख्रेल

यो दिनमा प्रेस स्वतन्त्रताका पक्षमा लडाई लड्ने योद्धाहरूप्रति सम्मान गर्ने, उनीहरूको योगदानको चर्चा गर्ने, प्रेस स्वतन्त्रताको पक्षमा थप प्रतिबद्धता जनाउने र प्रेस स्वतन्त्रताको आन्दोलनलाई अझ अगाडि कसरी लैजाने भन्ने सन्दर्भमा अन्तरक्रियाहरू गर्ने गरिन्छ । प्रेस स्वतन्त्रताको आधारभूत सिद्धान्त, विश्वभर र आफ्नो देशभित्रको प्रेस स्वतन्त्रताको समग्र अवस्थाको समीक्षा, प्रेस स्वतन्त्रता हनन्का घटनाको सार्वजनिकीकरण र स्वतन्त्रताको प्रतिरक्षा एवम् पत्रकारिता पेशा निर्वाहको क्रममा जीवन उत्सर्ग गर्नेहरूप्रति श्रद्धा व्यक्त गर्ने यो दिनको विशेष महत्व छ । यस अवसरमा म नेपाल र विश्वमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निम्ति योगदान पुर्‍याउने महानुभावहरूप्रति उच्च सम्मान व्यक्त गर्दै सम्पूर्ण पत्रकार एवम् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधरहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

नेपालमा पनि पत्रकार महासंघको आयोजनामा युनेस्कोसँगको सहकार्यमा मे ३ अर्थात बैशाख २० गते आज भर्चुअल रूपमा अन्तरक्रिया गरिँदै छ । कोरोना संक्रमणका कारण सामूहिकरूपमा भौतिक सहभागिता जनाएर कार्यक्रम गर्न सम्भव नदेखिएकोले कार्यक्रमको स्वरूप परिवर्तन गरेर भर्चुअलरूपमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने निर्णयमा आयोजकहरू पुगेका छौं । त्यही स्वरूपको अन्तरक्रियाकै क्रममा नेपालको यो वर्षको प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको अवस्था समेटिएको प्रतिवेदन पनि सार्वजनिक हुँदैछ । यसैगरी आजै नेपालका विभन्न तहमा बन्न थालेका ९ वटा कानुनको मस्यौदामाथिको विश्लेषणात्मक टिप्पणी समेत सार्वजनिक गरिँदै छ । यी दुई सामग्रीले नेपालमा प्रेस स्वतन्त्रताको पछिल्लो अवस्थालाई स्पष्ट देखाउने विश्वास गर्न सकिन्छ ।

पत्रकारहरू यतिबेला स्वास्थ्य चुनौतिसँग जुधिरहेका छन् । कोरोनाको संक्रमणका बीचमा पत्रकारिता कर्मलाई निरन्तरता दिनुपर्ने अवस्था एकातिर छ भने यही कोरोनालाई कारण देखाएर सञ्चारगृहबाट पत्रकारलाई विस्थापित गराउने खतरा पनि उस्तै छ । नेपाल पत्रकार महासंघ सञ्चार अनुगमन इकाईको तथ्यांक हेर्ने हो भने यस वर्ष पत्रकारहरुको पेशागत सुरक्षाका घटनाहरु सबैभन्दा बढी देखिए । कोरोना महामारीको समयमा पेशागत सुरक्षाको सन्दर्भबाट पीडित पत्रकारहरुको संख्या ५ सय १७ रहेको छ । यो अवस्थालाई दृष्टिगत गर्दै महासंघले सञ्चार संस्थाहरूलाई कोरानाको बहानामा सञ्चारकर्मीलाई निष्काशन नगर्न, सेवासुविधामा कटौती नगर्न र सञ्चारकर्मीको स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरेको छ ।

पत्रकार महासंघको अभिलेखमा प्रेस स्वतन्त्रतामाथिको प्रहारका घटनाहरू यो वर्ष ४५ छन् । ती घटनाबाट जम्मा ५ सय ८४ पत्रकार र ३ वटा सञ्चारसंस्था पीडित बनेका छन् । ५ सय ८४ पत्रकारमध्य ७७ पत्रकारहरू महिला रहेका छन् । पत्रकार महासंघको अभिलेखअनुसार यो वर्ष ६ जना पत्रकार गिरफ्तारीमा परे भने कब्जा, अवरोधबाट ४ जना पत्रकार पीडित भएका छन् । त्यसैगरी आक्रमणबाट ४८ र दुव्र्यवहार, धम्कीबाट १२ जना पत्रकार पीडित भएका छन् भने ५ सय १७ जना पत्रकारहरू विस्थापनमा परेका छन् । उल्लिखित तथ्यांकका आधारमा नेपाली प्रेस अझै पनि पेशागत र भौतिक सुरक्षाका सवालमा सन्तोष गर्न नसकिने अवस्थामा छैन भन्न सकिन्छ ।

मुलुकले संविधानसभामार्फत निर्मित संविधानको आधारमा संघीयताको अभ्यास गर्दैछ । यो अभ्यास गर्ने क्रममा आवश्यक कानुनहरू निर्माणको चरण अझै जारी छ । यसरी तीन तहहरूमा बन्दै गरेका प्रेससँग सम्बन्धित कानुनका मस्यौदाहरूले संविधानको मूल मर्मसँग मेल खाइरहेका छैनन् । पत्रकार महासंघले गरेको अध्ययन र विश्लेषणका आधारमा भन्नुपर्दा प्रेससँग सम्बन्धित कानुन निर्माणको प्रक्रिया र त्यहाँ राखिएका प्रावधानहरूप्रति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले सहमति जनाउन सकिने ठाउँ छैन । कानुन निर्माणको प्रक्रियामा सरोकारवाहरूसँगको परामर्शलाई कुनै आवश्यकता ठानिएको छैन । जसका लागि कानुन बनाइँदैछ, उनीहरूलाई बेवास्ता गरी कानुनको मस्यौदा निर्माण गर्ने कार्यसँग सहमत हुन सकिँदैन । त्यसैगरी ती मस्यौदाका कतिपय प्रावधानहरूप्रति पनि पत्रकार महासंघको गम्भीर आपत्ति रहेको छ । पत्रकारहरूलाई जेल हाल्न सकिने, ठूलो मात्रमा जरिवाना तोक्न सकिने, न्यायालयभन्दा बाहिर नै पत्रकारलाई दण्डित गर्न सकिने, सञ्चारमाध्यम खारेज गर्न सकिने जस्ता लोकतान्त्रिक समाजमा नसुहाउने प्रावधानहरू त्यहाँ राखिएका छन् । यस्ता प्रावधानसहितको कानुन आएमा त्यो अस्वीकार्य हुने चेतावनी पत्रकार महासंघले दिँदै आएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा हुने अन्तरक्रियाहरूमा नेपालको यो अवस्थाका बारेमा पनि छलफल हुनेछ र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले यो अवस्थामा सुधार ल्याउनका लागि राज्यका संरचनाहरूका साथै सरोकारवालाहरूको ध्यानाकर्षण गराउने छन् भन्ने मैले विश्वास लिएको छु । प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा हैन, नागरिकहरूको सूसुचित हुन पाउने संवैधानिक हकलाई प्रचलनमा ल्याउनका लागि पनि प्रेस स्वतन्त्रता अनिवार्य हुन्छ । त्यतिमात्र हैन प्रेस स्वतन्त्रता समग्र समाजको लोकतान्त्रिकीकरणको अभियानको एउटा महत्वपूर्ण अंग पनि हो । नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता लेखिएको भए तापनि व्यवहारमा त्यसअनुरूप वातावरण बन्न सकेको छैन । त्यसकारण प्रेस स्वतन्त्रताको आन्दोलनलाई अझ उचाईमा पुर्‍याउन पत्रकार महासंघ तथा प्रेस स्वतन्त्रताका पक्षधरहरू एक ठाउँमा उभिन जरुरी छ ।

प्रेस स्वतन्त्रताको आन्दोलनलाई उचाईमा पुर्‍याउनका लागि प्रेस आफै उत्तरदायी र मर्यादित हुन जरूरी छ । पत्रकार आचारसंहिता र पत्रकारिताका स्थापित मान्यताहरूलाई अनुशरण गर्दै आफूप्रतिको सामाजिक विश्वास अभिबृद्धि गर्ने दिशामा पनि पत्रकारहरूले आफूलाई प्रतिवद्ध बनाउनु पर्ने हुन्छ । त्यसैगरी राज्यले पनि पत्रकारिता क्षेत्रलाई स्वनियमनतर्फ प्रोत्साहित गर्दै लोकतान्त्रिक मूल्यभित्र रहेर पत्रकारिताको प्रवद्र्धनका लागि थुप्रै कामहरू गर्न बाँकी नै छ । यो दिशामा सबैको ध्यान जान जरुरी पनि छ ।

अन्त्यमा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निर्भिकतापूर्वक उभिई पत्रकारिताको माध्यमबाट राष्ट्र र समाजको हितमा काम गर्न हामी सबैलाई प्रेरणा मिलोस् भन्दै विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

(नेपाल पत्रकार महासंघको फेसबुक पेजमार्फत जारी गरिएको नेपाल पत्रकार महासंघका अध्यक्ष पोखरेलको शुभकामना सन्देश ।)

Exit mobile version