Home मुख्य समाचार विद्यालयमा कतै परीक्षा कतै परीक्षाको तयारी

विद्यालयमा कतै परीक्षा कतै परीक्षाको तयारी

हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना भाइरस संक्रमणको जाखिमका कारण शैक्षिक संस्था बन्द गर्न सूचना जारी गरेसँगै हेटौंडा उपमहानगरपालिका क्षेत्रका विद्यालय तथा क्याम्पसहरु बन्द भएका छन् । जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना जारी गर्दै शिक्षण संस्थाहरुले विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालनमा रोक लगाएपछि शैक्षिक संस्थाहरुको पठनपाठन कार्य बन्द भएको हो ।

प्रशासनले पठनपाठन बन्द भए पनि पूर्वनिर्धारित परीक्षा सञ्चालन गर्न सकिने जनाएपछि कतिपय सार्वजनिक विद्यालयहरुले वार्षिक परीक्षा सुरु गरेका छन् । अन्य सामुदायिक तथा संस्थागत विद्यालयहरुले पनि परीक्षाको तयारी अघि बढाएका छन् । हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले पनि बैशाख ९ गतेबाट कक्षा ८ बाहेकका अन्य कक्षाको वार्षिक परीक्षा सञ्चालन गर्न निर्देशन दिएपछि विद्यालयहरु परीक्षामा जुटेका हुन् ।

हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयले आइतबारबाट कक्षा ८ र १० बाहेकको वार्षिक परीक्षा सञ्चालन गर्ने भएको छ । कक्षा ८ र १० का विद्यार्थीहरुलाई परीक्षा तयारीका हिसाबले अनलाइन कक्षा सुरु गरिएको विद्यालयका सहायक प्रधानाध्यापक रामसागर गुरागाईंले जानकारी दिनुभयो । कक्षा १० को एसईई पूर्वतयारी परीक्षा चैत २२ गतेबाट नै लिइएको र कक्षा ८ को परीक्षा हेटौंडा उपमहानगरपालिकाले बैशाख १९ गतेदेखि लिने तयारी गरेको गुरागाईंले बताउनुभयो ।

हेटौंडा ४ कै भूटनदेवी माध्यमिक विद्यालयले पनि कक्षा ८ र १० बाहेक अन्य कक्षाको परीक्षा आज शुक्रबारबाट सञ्चालन गर्ने भएको छ । भूटनदेवीले गत आइतबारदेखि कक्षा १० को एसईई पूर्वतयारी परीक्षा सञ्चालन गरिरहेको विद्यालयका प्रधानाध्यापक माधव दाहालले जानकारी दिनुभयो । विद्यालयको कक्षा ११ र १२ को आन्तरिक परीक्षा बैशाख १७ गतेदेखि २४ गतेसम्म सञ्चालन गरिने र आइतबारबाट अनलाइन पठनपाठन गरिने दाहालले जानकारी दिनुभएको छ ।

हेटौंडा–२, संगमचोकस्थित ज्ञानोदय बालबाटिकामा कक्षा ८ र एसईईबाहेकका परीक्षा चैत २२ गतेदेखि सुरु भई सम्पन्न भएको विद्यालयका लेखा प्रशासन प्रमुख कपिल भण्डारीले जानकारी दिनुभयो ।

यसैगरी, हेटौंडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा एसईई पूर्वतयारी परीक्षा चलिरहेको प्रधानध्यापक मोहनप्रसाद शर्माले जानकारी दिनुभएको छ । सिद्धार्थले आइतबारबाट कक्षा १ देखि ६ सम्मको परीक्षा सावधानीपूर्वक र सुरक्षा मापदण्ड अपनाएर दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ । कक्षा ७ र कक्षा ९ को परीक्षा भने बैशाख १४ गतेदेखि हुने प्रधानाध्यापक शर्माले बताउनुभयो । कक्षा ११ र कक्षा १२ को परीक्षाको तयारीमा रहन विद्यार्थीहरुलाई आग्रह गरिएको उहाँले बताउनुभयो ।

हेटौंडा–१ स्थित अमर माध्यमिक विद्यालयमा पनि कक्षा ८ र एसईईबाहेकका परीक्षा बिहीबारदेखि सुरु भएको विद्यालयका प्रधानाध्यापक मालती उप्रेतीले जानकारी दिनुभयो । स्वास्थ्य मापदण्ड अपनाएर दुई सिफ्टमा परीक्षा सञ्चालन भइरहेको उप्रेतीले बताउनुभयो ।

Exit mobile version