Home मुख्य समाचार मानव अधिकार वर्ष पुस्तक सार्वजनिक, वर्ष २०२० मा ३५० को हत्या

मानव अधिकार वर्ष पुस्तक सार्वजनिक, वर्ष २०२० मा ३५० को हत्या

हेटौंडाः अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले वर्ष २०२० मा मानवअधिकार उल्लंघनका घटनाको विवरण समावेश भएको मानव अधिकार वर्ष पुस्तक शुक्रबार सार्वजनिक गरेको छ । देशव्यापी सार्वजनिकीकरण गर्ने क्रममा शुक्रबार बागमती प्रदेशको राजधानी हेटौंडामा पनि मानव अधिकार वर्ष पुस्तक सार्वजनिक गरिएको हो । इन्सेकले हरेक वर्ष प्रजातन्त्र दिवसको अवसरमा वर्ष पुस्तक प्रकाशन गर्ने गरेको छ ।

इन्सेक बागमती प्रदेश कार्यालयका संयोजक कृष्ण गौतमको अध्यक्षता तथा बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता ओमप्रसाद थपलियाको प्रमुख आतिथ्यमा वर्ष पुस्तक सार्वजनिक गरिएको हो । वर्ष पुस्तक सार्वजनिक गर्नुका साथै सन् २०२० मा बागमती प्रदेशमा मानवअधिकारको अवस्थाका बारेमा अन्तरक्रिया समेत गरिएको थियो । मानव अधिकार वर्ष पुस्तकमा वर्ष २०२० मा कुल पाँच हजार पाँच सय ४३ घटना भएको उल्लेख गरिएको छ ।

२०२० मा तीन सय ५० जनाको हत्या भएको र ४५ जनाको कारागारमा मृत्यु भएको पुस्तकमा उल्लेख गरिएको छ । यस्तै वर्ष २०२० मा बागमती प्रदेशमा मानवअधिकार उल्लंघनका घटनाबाट एक हजार ९२ जना पीडित हुनुपरेको उल्लेख गरिएको छ । बागमती प्रदेशमा ४८ जनाको हत्या भएको र ३६ जनाको कारागारमा मृत्यु भएको उल्लेख गरिएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनीको पनि उपस्थिति रहेको थियो ।

Exit mobile version