Home खेलकुद भिडोल विजय युथ हेटौंडा गोल्डकप, सेन्ट्रल कलेज बीएफसी फाइनलमा

भिडोल विजय युथ हेटौंडा गोल्डकप, सेन्ट्रल कलेज बीएफसी फाइनलमा

हेटौंडाः हेटौंडामा जारी भिडोल विजय युथ हेटौंडा गोल्डकपमा सेन्ट्रल कलेज भरतपुर फुटबल क्लब (बीएफसी) फाइनलमा प्रवेश गरेको छ । हेटौंडाको वन विज्ञान अध्ययन संस्थानको खेलमैदानमा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा चितवनकै हर्दी युवा समाज, राप्तीलाई १–० गोलअन्तरले पराजित गर्दै बीएफसी फाइनल पुगेको हो ।

सेन्ट्रल कलेज बीएफसीका विदेशी खेलाडी जोन ग्लोरीले खेलको पहिलो हाफको ७ औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । प्रतिस्पर्धात्मक खेलमा ग्लोरीको गोल नै निर्णायक हुन पुग्यो । जारी हेटौंडा गोल्डकपमा सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहेका ग्लोरीले पाँच गोल गरिसकेका छन् ।

खेलको दाजुभाइ स्वीट्स म्यान अफ द म्याच सेन्ट्रल कलेज बीएफसीका जितेश गुरुङ घोषित भए । गुरुङले नगद ५ हजारसहित ट्रफी प्राप्त गरेका थिए । गुरुङलाई म्यान अफ द म्याचको ट्रफी तथा नगद पुरस्कार नेपाली कांग्रेस मकवानपुरका पूर्वसभापति माईकल रामचन्द्र अयार्लले हस्तान्तरण गर्नुभएको थियो ।

प्रतियोगिताअन्तर्गत् आज बुधबारको दोस्रो सेमिफाइनल खेल हुनेछ । आयोजक विजय युथ क्लब र बागमती युवा क्लब सर्लाहीबीच दोस्रो सेमिफाइनल खेल हुने आयोजकले जानकारी दिएको छ ।

माघ २३ गते प्रतियोगिताको फाइनल खेल हुनेछ । १० टिम सहभागी भएको प्रतियोगिताको विजेताले नगद ३ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले १ लाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Exit mobile version