Home मुख्य समाचार बागमती प्रदेशको ३७१ बिगाहामा लगाइएको गाँजा खेती नष्ट

बागमती प्रदेशको ३७१ बिगाहामा लगाइएको गाँजा खेती नष्ट

हेटौंडाः बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रदेशका विभिन्न जिल्लाहरुमा अवैध रुपमा हुने गरेको लागू औषधको खेती नष्ट गरेको जनाएको छ । मंसिर महिनामा मात्रै प्रदेशको ३७१ बिगाहा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरिएको प्रहरी वरिष्ठ उपरीक्षक मीरा चौधरीले बताउनुभयो । लागू औषध खेती गर्ने र लागू औषधको अवैध ओसार पसारलाई नियन्त्रण गर्न गएको मंसिर महिनालाई लागू औषध बिरुद्धको कार्वाही अभियानको रुपमा संचालन गरिएको उहाँले बताउनुभयो ।

बागमती प्रदेश अन्तर्गतका मकवानपुर, चितवन, सिन्धुली, धादिङ लगाएतका जिल्लाहरुमा अवैध लागू औषधको खेती हुने र पूर्व पश्चिम राजमार्गको धादिङ, चितवन र मकवानपुर ओसारपसार गर्ने मार्ग रहेको हुँदा लागू औषधको गैर–कानुनी खेती र ओसारपसारलाई नियन्त्रण गर्ने उद्देश्यले कार्वाही अभियान संचालन गरीएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी वरिष्ठ उपरिक्षक मीरा चौधरीले जानकारी दिनुभयो । मसिर महिनामा प्रदेशमा ३७१ बिगाहा, ५६ कठ्ठा २७ धुर जग्गामा लगाइएको गाँजा खेती नष्ट गरीएको छ । अभियानलाई प्रभावकारी बनाउन प्रदेश अन्तर्गतका बिभिन्न जिल्लाहरुमा ४२८ जना प्रहरी कर्मचारी परिचालित गरिएको उहाँले बताउनुभयो ।

मकवानपुरमा २३५ बिगाहा ५ कठ्ठा ५ धुरमा लगाईएको गाँजा खेती नष्ट गरीएको छ भने चितवनमा ५० बिगाहा, सिन्धुलीमा ६३ बिगाहा २५ कठ्ठा १० धुर र धादिङमा २१ बिगाहा ८ कठ्ठा गरी मंसिर महिनामा मात्रै ३७१ बिगाहामा लगाईएको गाँजा खेती नष्ट गरीएको हो ।

Exit mobile version