Home मुख्य समाचार मकवानपुरगढीले सुरु गर्‍यो मल वितरण

मकवानपुरगढीले सुरु गर्‍यो मल वितरण

हेटौंडाः अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका, २०७७ अनुसार मकवानपुरमा पहिलो पटक मकवानपुरगढी गाउँपालिकाले रासायनिक मल वितरण गर्न सुरु गरेको छ । अनुदानका मल वितरण गर्ने निर्देशिका संघीय सरकारले कार्यान्वयनमा ल्याएपछि चालु आर्थिक वर्षमा मकवानपुरमा पहिलो पटक मकवानपुरगढी गाउँपालिकाले मल वितरण गर्न सुरु गरेको हो ।

गाउँपालिकाले उपप्रमुखको संयोजकत्वमा रहने समिति निर्माण गरेर अनुदानको मल वितरण गर्ने १३ वटा सहकारीलाई सूचीकृत गरिसकेको मकवानपुरगढी गाउँपालिकाका कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिनुभयो । हालसम्म सूचीकृत भएको १३ मध्ये ५ वटा सहकारीले कृषि सामग्री कम्पनी लिमिटेड बागमती प्रादेशिक कार्यालय हेटौंडामा सूचीकृत गराई रासायनिक मल प्राप्त गरिसकेको छ ।

मकवानपुरगढी गाउँपालिकाका विभिन्न सहकारी संस्थाहरुबाट रासायनिक मल (डीएपी, युरिया र पोटास) बिक्री वितरण गर्न सुुरु भएको हो । गएको बिहीबार मकवानपुरगढीको वडा नम्बर २, ३ र ४ का तीनवटा सहकारीले कृषि सामग्री कम्पनी हेटौंडाबाट एक सय १० बोरा युरिया, ३० बोरा डीएपी र १५ बोरा पोटास लिएर बिक्री गर्न सुरु गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख चौधरीले जानकारी दिनुभयो ।

शुक्रबार मकवानपुरगढीको २ र ५ नम्बर वडाका सूचीकृत एक/एक सहकारीले कृषि सामग्री कम्पनीबाट५० बोरा युरिया, ४० बोरा डीएपी र १० बोरा पोटस प्राप्त गरी बिक्री सुरु गरिसकेको छ । गाउँपालिकाले अनुदानको मलको मूल्य पनि निर्धारण गरेको छ । गाउँपालिकाले ढुवानी सस्तो पर्ने र नजिकैको वडाहरु र विकटका वडाहरुमा दुरीको हिसाबले अनुदानको मलको बिक्री मूल्य तोकेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको वडा नम्बर १ र ८ मा पचास किलोको युरिया मल प्रतिबोरा ९ सय ६०, डीएपी प्रतिबोरा २ हजार ४ सय १० र पोटास प्रतिबोरा १ हजार ८ सय १० रुपैयाँ बिक्री मूल्य तोकिएको छ ।

गाउँपालिकाको वडा नम्बर २, ३, ४, ५ र ६ मा युरिया प्रतिबोरा ९ सय १०, डीएपी प्रतिबोरा २ हजार ३ सय ६० र पोटास प्रतिबोरा १ हजार ७ सय ६० रुपैयाँ बिक्री मूल्य तोकिएको छ । गाउँपालिकाको वडा नम्बर ७ मा युरिया प्रतिबोरा ९ सय २५, डीएपी प्रतिबोरा २ हजार ३ सय ८५ र पोटास प्रतिबोरा १ हजार ७ सय ८५ रुपैयाँ बिक्री मूल्य निर्धारण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिनुभयो ।

Exit mobile version