Home अन्तरवार्ता संक्रमितलाई घृणा गर्न छाडेपछि होम आइसोलेसनमा बस्न रुचाए

संक्रमितलाई घृणा गर्न छाडेपछि होम आइसोलेसनमा बस्न रुचाए

डा. सागर काफ्ले, आइसोलेसन इन्चार्ज गौरिटार आइसोलेसन वार्ड

हेटौंडा उपमहानगरपालिका–६ स्थित गौरीटार आइसोलेसनमा बस्ने कोरोना सङ्क्रमितहरुको संख्या दिनप्रतिदिन घट्दै गएको छ । सुरुवाती चरणमा संक्रमितले भरिएको गौरिटार आइसोलेसनमा एक सय भन्दा बढी संक्रमितहरुले उपचार सेवा लिएका थिए । अहिले ५–७ जना बस्ने गरेका छन् । कोरोनाका अधिकांश संङ्क्रमितहरु होम आइसोलेसनमा बस्दै आएका छन् । यसै सन्दर्भमा रहेर गौरिटार आइसोलेसनका इन्चार्ज डा. सागर काफ्लेसँग समाज संवाददाता जेनिशा घिमिरेले गर्नुभएको कुराकानीः

समाजः अहिले गौरीटार आइसोलेसन वार्डमा कति जना संक्रमितहरु हुनु हुन्छ ?
काफ्लेः अहिले आइसोलेसन वार्डमा ५ जना हुनु हुन्छ । आइसोलेसनमा रहनुभएका सबैजना इन्जेक्टिबल (सुइबाट) औषधिहरु दिनुपर्ने अवस्थाका हुनु हुन्छ र बेलाबेलामा अक्सिजनसमेत आवश्यक पर्ने बिमारीहरु हुनुहुन्छ । आइसोलेसनमा सामान्य उपचार गर्नुपर्ने छन्, गम्भीर अवस्थाका बिमारी छैनन् ।

समाजः संक्रमितहरुचाहिँ अहिले सरकारले सञ्चालन गरेको आइसोलेसनमा भन्दा पनि होम आइसोलेसनमा बस्न रुचाइराखेको पाइन्छ, किन होला ?
काफ्लेः पहिले धेरै घृणा हुने, हेप्ने भएकाले पनि संक्रमितहरु घरमा बस्न चाहँदैनथे । मान्छेहरुले कोभिड–१९ को बारेमा बुझ्दै गए । कोभिड–१९ का बिरामीलाई अहिले पहिलाको जस्तो घृणा गर्ने गरिएको छैन । त्यही भएर होम आइसोलेसनमा बस्न रुचाएका हुन् । होम आइसोलेसनमा बस्दा पनि हामीले आवश्यक परामर्श दिइरहेका हुन्छौं । गम्भीर अवस्था भए आउनुहोस् भनेका पनि छौं । होम आइसोलेसनमा बस्दा संक्रमितहरुले हामीलाई असहज भए आइसोलेसनमा आउछौं भन्नु भएको छ । उहाँहरु हाम्रो सर–सल्लाहमा सहजरुपमा नै होम आइसोलेसनमा बस्नुभएको हो ।

समाजः अहिले गौरीटार आइसोलेसनले संक्रमितहरुको उपचार के कसरी गरिरहेको छ ?
काफ्लेः हाम्रो गौरीटारमा आइसोलेसन वार्डका साथै ट्रिटमेन्ट सेन्टर पनि छ । हामीले अहिले सामान्य रुघाखोकी लागेका संक्रमितहरुलाई होम आइसोलेसनमा नै परामर्श दिरहेका छौं, त्यसपछिका मध्यमखालका सिस्टोमेटिक बिमारीहरुलाई हामीले यहि आइसोलेसनमा औषधिहरुको प्रयोग गरेर उपचार गरिरहेका छौं । श्वासप्रश्वासमा समस्या पर्ने बिरामीहरुका लागि अक्सिजनको व्यवस्था गरेका छौं । अन्य जटिल अवस्थाका संक्रमितहरुका लागि आवश्यक उपचार गर्ने गरेका छैनौं ।

समाजः अहिले आइसोलेसन वार्डमा बस्ने संक्रमितको संख्या दिनप्रति दिन घट्दै गएको छ । के अब आइसोलेसन वार्ड बन्द हुने अवस्थामा आएको हो त ?
काफ्लेः आइसोलेसन वार्ड बन्द गर्नेतर्फ हामीले सोच्नु हुन्न । धेरै मिहिनेत गरेर हामीले आइसोलेसन वार्ड निर्माण गरेका छौं । यसलाई बन्द गर्ने भन्दा पनि कसरी अझै राम्रो बनाउन सकिन्छ भन्नेतर्फ लाग्नुपर्छ । अहिले श्वासप्रश्वासमा समस्या हुने संक्रमितहरु बस्दै आउनुभएको छ । हामीले उहाँहरुलाई गाह्रो भयो भने समन्वय गरेर भरतपुर रेफर गर्नुपर्ने हुन्छ । हामीले आजै (बिहीबार) पनि एक जनालाई समस्या भएर भरतपुर रेफर गरेका थियौं । यसलाई बन्द गर्ने भन्दा पनि उच्चस्तरबाट सञ्चालन गर्नेतर्फ केन्द्रित रहेका छौं ।

Exit mobile version