Home मुख्य समाचार मनहरीमा सङ्क्रमण बढ्यो,अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन आग्रह

मनहरीमा सङ्क्रमण बढ्यो,अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन आग्रह

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाले मनहरी गाउँपालिकामा कोरोनाको सङ्क्रमणको दर बढेको भन्दै अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ । आइतबार मनहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईद्वारा हस्ताक्षरित एक सूचनामा गाउँपालिका तथा वडाका अधिकांश स्थानमा कोरोनाका सङ्क्रमितहरु थपिएका कारण सुरक्षित रहन अनुरोध गरिएकोे छ ।

गाउँपालिकाले दशैंमा पालिकाभित्र नवरथा पुजा, लङ्गूरबुर्जा, जुवातास, खेलाउने कार्यमा रोक लगाएको छ । धेरै भीडभाड गर्दा कोरोना फैलन सक्ने भएकोले मनहरी गाउँपालिकाले नित्य पूजा बाहेक मन्दिरमा सर्वसाधारणहरुलाई प्रवेश निषेध गरेको छ । घरैमा बसेर आफ्नो परिवारमा वडा दशैं मनाउन पालिकाले आग्रह गरेको छ । आफ्नै घरमा स्वास्थ्य र सुरक्षा अपनाई दशैं मनाउन र गाउँपालिकाको अत्यावश्यक बाहेकका अन्य सेवाहरुको लागि इमेल, फोन सम्पर्क गर्न सर्वसाधारणहरुलाई आग्रह गरेको छ ।

मनहरी गाउँपालिकाको कर्मचारीमा कोरोना पुष्टि भएसँगै थप फैलन सक्ने भन्दै गाउँपालिकाको अन्य सेवा कार्तिक ६ गतेसम्मका लागि बन्द गरिएको छ । मनहरी गाउँपालिकामा हालसम्म एक सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यस्तै एक सय जना निको भएका छन् भने घरमै आइसोलेसन र संस्थागत आइसोलेसनमा हाल ३७ जना बसेका छन् । यस्तै १ जनाको भने कोरोना भाइरसको कारण ज्यान गएको मनहरी गाउँपालिकाका सिनियर अहेब ज्योतिराज लुइटेलले जानकारी दिनुभयो ।

Exit mobile version