Home मुख्य समाचार कार्तिक १६ देखि मनहरीका विद्यालयमा पढाई हुने

कार्तिक १६ देखि मनहरीका विद्यालयमा पढाई हुने

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाले कार्तिक १६ गतेबाट सिकाई सहजीकरण योजना अनुसार विद्यालयहरु सञ्चालन गर्ने भएको छ । मनहरी गाउँपालिकामा रहेका सामुदायिक विद्यालय ३२ र निजीतर्फका ८ विद्यालयहरुले सिकाई सहजीकरण योजना अनुसार विद्यार्थीहरुलाई अध्यापन गराउने तयारी भएको मनहरी गाउँपालिकाका शिक्षा शाखाका प्रमुख हरिचन्द्र सापकोटाले बताउनुभयो । विद्यालयहरुले आफ्नै सिकाई योजना अनुसार कक्षागत पढाई सुरु गर्ने भएको उहाँले बताउनुभयो ।

यस्तै मनहरी गाउँपालिका–१ को श्री प्राथमिक विद्यालय चकरीले भने गएको २ हप्तादेखि नै विद्यालयहरु सञ्चालन गर्दै आएको विद्यालयका प्रधानाध्यापक नवराज डोटेलले बताउनुभयो । कुल ७७ जना विद्यार्थी रहेको विद्यालयले अभिभावहरुसँगको समन्वयमा विद्यालय खोलेको जानकारी दिनुभयो ।

विशेष गरेर ग्रामिण क्षेत्रमा कोरोना भाइरसको प्रभाव कम परेको कारण विद्यालय सञ्चालन गरेको उहाँको भनाइ छ । यस्तै मनहरीको राष्ट्रिय रोटरी माविले भने हाललाई विद्यालयबाट प्रोजेक्ट वर्क दिएर विद्यार्थीलाई पठाएको छ । एक साता अनलाईन कक्षा १० देखि १२ सम्म भएपनि प्रभावकारी नदेखिएकोले बन्द गरिएको विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद पौडेलले बताउनुभयो । मनहरी गाउँपालिकाले आइतबार अनुमति दिएसँगै अब १६ गतेबाट शिक्षण सिकाईलाई निरन्तरता दिने उहाँले जानकारी दिनुभयो ।

मनहरी गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै कार्तिक १५ गतेसम्म सम्पूर्ण विद्यालय बन्द रहने र १६ गतेबाट शिक्षण सिकाई क्रियाकलाप र प्रशासनिक कार्य यथावत रुपमा सञ्चालन गर्न सम्पूुर्ण विद्यालयलाई अनुरोध गरेको छ ।

Exit mobile version