Home मुख्य समाचार कोभिडबारे भ्रम चिर्न स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण

कोभिडबारे भ्रम चिर्न स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण


हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले कोरोना भाइसरबारे उत्पन्न भ्रम चिर्न स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरद्वारा आर्थिक वर्ष २०७६-०७७ को स्वास्थ्य कार्यक्रमको दुईदिने जिल्ला स्तरीय वार्षिक समिक्षा गोष्ठीको उद्घाटन गर्नुहुँदै उहाँले समुदायमा कोरोना सम्बन्धी भ्रमकै कारण पनि जोखिम बढेको हुनाले त्यसलाई चिर्न स्वास्थ्यकर्मीले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो ।

उहाँले आम नागरिकले अरुले भनेको भन्दा स्वास्थ्यकर्मीले भनेका कुराहरुमा गम्भीर रुपमा लिने साथै बढी विश्वास गर्ने हुँदा स्वास्थ्यकर्मीलाई सोहि अनुसारको भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । जनचेतनाकै अभावका कारण कोभिडको जोखिम बढ्दै गएकोले स्वास्थ्य सेवासँगै सचेतना फैलाउने कामसमेत गर्न स्वास्थकर्मीलाई उहाँले आग्रह गर्नुभयो । विशेषगरी समुदायमा सचेतना फैलाउने काममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, टोल विकास संस्था, राजनीतिक दलले भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो ।
प्रमुख खुलालले पछिल्लो समय जिल्लाको स्वास्थ्य क्षेत्रमा सुधार हुँदै गएको समेत बताउनुभयो । उहाँले तीन तहका सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम गरेका कारण पनि जिल्लाको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको बताउनुभयो । अझै पनि धेरै कुरामा कमी रहेको भन्दै उहाँले बागमती प्रदेश सरकारले मदन भण्डारी फाउण्डेशन स्थापना गरेर कार्य सुरु गरेकाले थप आशा जगाएको समेत बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रमेश प्रसाद अधिकारीले स्वास्थ्य क्षेत्रमा लाग्ने स्वास्थ्यकर्मीले उदाहरणीय काम गर्नुपर्ने बताउनुभयो । उहाँले जस्तोसुकै परिस्थितीमा पनि जनताले पाउने सेवा सुविधाबाट बञ्चित हुन नहुने बताउनुभयो । उहाँले सरकारले दिन चाहेको सेवा प्रवाह गर्ने काम स्वास्थ्यकर्मीको भएको भन्दै जनतालाई स्वास्थ्य सेवा प्रवाहसँगै कोभिड सम्बन्धी सचेतना फैलाउने काममा लाग्न निर्देशन समेत दिनुभयो । उहाँले जनताले पाउने सेवा सुविधासँगै गाउँघर क्लिनिकलाई प्रभावकारी बनाउन निर्देशन दिनुभयो । स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका १० वटै पालिकाका स्वास्थ्य संयोजकहरुको सहभागिता रहेको थियो ।

Exit mobile version