Home मुख्य समाचार सुविधा वञ्चित समूहमा साक्षरता एवम् जीवनपर्यन्त सिकाइको पहुँच विस्तार

सुविधा वञ्चित समूहमा साक्षरता एवम् जीवनपर्यन्त सिकाइको पहुँच विस्तार

राधा कुमारी महतो

समयको लामो झरीदेखि नै हाम्रो प्रजातिले जीवनको यात्रा गर्दै आएको छ । मानव सभ्यताको विकासले संसार परिवर्तनलाई जन्म दिएको हो । हजारौं काल पहिलादेखि नै मानिसले आफ्ना जीवनशैलीलाई सरल र सहज बनाउने पर्यन्तमा अद्भूत रचनाहरू गर्दै आएको छ । यही बीच जब जीवन सरल हुँदै गयो र समाज विकासको पथमा बढ्दै गयो तब विकसित समाजले नै सुविधा सम्पन्न समाजलाई जन्म दियो । सुविधाको जन्मको माध्यम केवल शिक्षा थियो । शिक्षाले मान्छेमा भएको बुद्धिको सहायताले नयाँ रचनाको माध्यम जन्मायो जसले जीवनलाई सरल बनायो र यसैले सुविधालाई अर्थ पनि दियो । अहिलेको आधुनिक युगमा यसको अर्थ विपरीत भएको देखिन्छ । किनकि अहिले जहाँ सुविधा हुन्छ त्यहाँ मात्र शिक्षाको पहुँच भएको देख्न सक्छौँ । तर वास्तविकता अलि फरक छ जहाँ सुविधा छैन त्यहाँ पनि हामी शिक्षाको पहुँच पुर्‍याउन सक्छौँ । यसका लागि समाज र देश लगायत सबैले यसमा कार्य गर्नुपर्छ ।

नेपाल एउटा सुन्दर मुलुक भएपनि सम्पन्न राष्ट्र बन्न सकेको छैन । यहाँ सम्पदा भएपनि सुविधा सबै ठाउँमा छैन । आज पनि नेपालका कतिपय मानिस शिक्षाको प्रकाशबाट परिचित हुन सकेका छैनन् । उनीहरूको जीवन अझ अन्धकारमै बितिरहेको छ । सुविधा वञ्चित समूहमा साक्षरताको अभाव हुनु आजको सामान्य समस्या भएको देखिन्छ । अन्धकारमा नै ज्योति बल्ने अवसरले प्रकाश भर्ने कार्यतर्फ लैजान्छ । शिक्षा त मनको ऐना हो र आफ्नो वास्तविकता देख्ने अधिकार सबैलाई हुन्छ । इतिहास हेर्ने हो भने हामी पहिला सुविधा सम्पन्न समाजमा थिएनौँ तर शिक्षा उत्पन्न भएको समाज त्यहाँ उपस्थित थियो । त्यहाँ धन नभए पनि शिक्षा लिने अधिकार र शिक्षा प्रदान गर्ने माध्यम थियो । समय अनुसार शिक्षाको स्वरुप फेरिएको छ । त्यसैले यसको माध्यमको रुपान्तरण गर्न पनि आवश्यक छ । सुविधा वञ्चित समाजमा साक्षरता भर्नका लागि केही बाटो अपनाउनुपर्छ साथै त्यसलाई समाजमा लागू गरेर शिक्षाको पहुँच हरेक ठाउँमा विकास गर्नुपर्छ ।

साक्षरताको विकासको माध्यम स्वयमबाट सुरु हुन्छ । शिक्षाको उत्पत्ति नै व्यक्तिकै सोचले सुरु भएको हो यसको उत्पादनको आधार नै व्यक्तिगत सोच हो । आफूभित्र साक्षर हुनु हो आवश्यकता महसुस गरेर त्यसलाई प्राप्त गर्ने इच्छाशक्ति जागृत गर्नुपर्छ । व्यक्तिको इच्छाशक्ति प्रवल भए कुनै पनि बाधाले उसलाई रोक्न सक्दैन । दृढ इच्छाशक्तिले सुविधा र माध्यम माग्दैन यद्यपि यसले आत्मविश्वास र रुचिको उच्चस्तर मात्रै खोज्छ । मान्छेको मस्तिष्कको सोचाइले नै हामीलाई चन्द्रमामा बस्ती बनाउन प्रेरित गरेको थियो र आज हामी सफल पनि भएका छौं । अर्थात हामी जस्तो सोँचौ त्यस्तै बन्छौं । यो भनाइ गौतम बुद्धको हो । उनका उपदेश वास्तविकतासँग नै जोडिएको छ । यदि व्यक्तिले आफूभित्र शिक्षाको महत्व जागृत गरेर त्यसलाई प्राप्त गर्न खोजे संसारको जति ठूलो बाधाले पनि केही गर्न सक्दैन ।

आफूमात्र शिक्षित भएर शिक्षालाई सीमित बनाउनु उचित हुँदैन त्यसलाई बाँड्नुपर्छ । शिक्षालाई जति बाँडे त्यति नै बढ्दै जान्छ । एक शिक्षकले अनेक विद्यार्थीलाई जन्म दिन्छ । अनेक विद्यार्थी शिक्षक भयो भने सारा समाज शिक्षित हुन्छ । यही मूल कुरा हरेक व्यक्तिले आत्मसात गरेर आफूभित्र शिक्षाको प्रकाश भन्ने प्रयासमा लाग्नुपर्छ । पहिलो माध्यमको सुरुवात आफैबाट हुन्छ । गर्न चाहे संसारमा असम्भव केही छैन भन्ने कुरा हामी सबैले थाहा पाउनुपर्छ र आफू शिक्षित भएर समाजलाई शिक्षित बनाउनुपर्छ । यसरी साक्षरता सुविधा वञ्चित समूहमा फैलिन सक्छ । यसमा व्यक्तिको आफ्नो भूमिका निकै महत्वपूर्ण हुन्छ यदि आफूबाट सुरुवात भएन भने समाजमा कति पनि परिवर्तन आउँदैन ।

शिक्षाको पहुँचमा पहिलो भूमिका व्यक्तिको आफ्नो हुन्छ भने दोस्रो परिवार र समाजको हुन्छ । परिवारका व्यक्तिले शिक्षाको प्रकाश आफ्नो परिवारमा फैलाउनुपर्छ । कसैको उमेरसँग शिक्षाको केही सम्बन्ध हुँदैन त्यसैले जेष्ठ नागरिकलाई पनि शिक्षा प्रदान गर्ने अवसर समाज र परिवारले दिनुपर्छ । समाजले सामूहिक शिक्षाको चलन सुरु गर्नुपर्छ । सुविधा नभएको ठाउँमा शिक्षाको प्रवर्धन गरेर सामूहिकतामा ज्ञान आदानप्रदान गर्ने चलन सुरु गर्नुपर्छ । समाजलाई साक्षरताको महत्व बुझाई हरेकले शिक्षालाई आफ्नो जीवनमा लागू गर्नुपर्छ । समाजमा साक्षरतालाई आधारभूत आवश्यकता अनुभव गर्नुपर्छ । जबसम्म साक्षरतालाई महत्वपूर्ण मानिँदैनन् तबसम्म माध्यमको व्यवस्था हुन सक्दैन । जीवनपर्यन्त सिकाइका लागि आफूभित्र यसको महत्व जान्न र बुझ्न निकै आवश्यक हुन्छ । कुनैपनि सिकाइलाई व्यवहारमा लागू गर्नु जरुरी हुन्छ । सुविधा नभएको समाजमा मानिसमा जागरूकताको कमी हुन्छ त्यसैले उनीहरु शिक्षाको ज्योतिलाई मनमा बसाउन सक्दैनन् । समाजमा गरिबी नामक एउटा समस्याले अझ जरो गाडेको छ ।

सुविधा नभएको ठाउँमा विशेषगरी शिक्षित नहुनुको कारण गरिबी पनि हो । गरिबीको कारणले आफ्ना सन्तानलाई आमाबाबाले पढाउन सक्दैनन् । आज पनि अन्धविश्वासले समाजलाई शिक्षाको प्रकाशबाट टाढा राखेको भेट्न सक्छौं । थुप्रै ग्रामीण क्षेत्रमा अहिले पनि शिक्षालाई आधारभूत आवश्यकता मान्दैनन् त्यसैले शिक्षालाई पनि सुविधायुक्त समाजको भर पर्नुपरेको छ । तसर्थ परिवार र समाजले शिक्षाको महत्व बुझ्नुपर्छ र त्यसलाई जीवनमा लागू गर्न तत्पर हुनुपर्छ । अनि मात्र यसको मध्यमको विकास गर्न सकिन्छ । कुनैपनि कुरा प्राप्त गर्नका लागि त्यसको माग आवश्यक हुन्छ । यदि समाजले साक्षरता माग्यो भने त्यहाँ विकास हुन्छ र माध्यमको व्यवस्थाहरु पनि भेटिन्छ । समाजले आफैँपनि यसको विकासमा लाग्न थाल्छ ।
यदि व्यक्ति व्यक्तिगत रुपले तयार छ, समाज र परिवार पनि उनको कार्यलाई स्वीकार छ भने अब साक्षरताको माध्यम विकास गर्ने काम देशको हुन्छ । सुविधा वञ्चित समाजमा साक्षरताको माध्यमको विकास गर्ने कार्य देशले लिनुपर्छ । सरकारले सुविधा वन्चित समूहमा शिक्षाको दीपक बाल्ने माध्यमको उत्पत्ति गर्नुपर्छ र हरेक ठाउँमा पुर्याउनुपर्छ । यसका लागि सरकारले सर्वप्रथम त सुविधा वन्चित समूहको अवलोकन गरेर यसको अवस्थाबारे जानुपर्छ । यसै अनुसार माध्यमको विकास तर्फ योजना बनाएर कार्य गर्न थाल्नुपर्छ ।

सुविधा वन्चित समाजमा शिक्षा नहुनुको मुख्य कारण त्यहाँ विद्यालय नहुनु हो । पहिलो माध्यम अपनाई विद्यालयको व्यवस्था मिलाउनुपर्छ । विद्यालयको व्यवस्था मिलाएर शिक्षकको पहुँच पुर्याउने साथै शिक्षा आर्जन गर्न उपयुक्त समाग्रीको व्यवस्था मिलाउनुपर्छ । त्यसैगरी यहाँका व्यक्तिलाई शिक्षाको महत्त्वबारे अवगत गराउनुपर्छ र शिक्षित हुनुको फाइदा दर्शाउने कार्यक्रमको आयोजना पनि गर्नुपर्छ । यसका लागि सरकारले सरकारी कर्मचारीलाई खटाउनुपर्छ साथै त्यही समाजका व्यक्तिलाई पनि यसमा समावेश गरेर जानकल्याणमा लगाउनुपर्छ । यसरी समाजका व्यक्तिको समावेश भएमा उनीहरुले शिक्षाको महत्त्वको गहिराईलाई राम्रोसँग नजिकबाट विस्तारपूर्वक बुझ्न सक्छन् अनि जीवनको एउटा भाग बनाउन सक्छन् । यसले उनीहरूको सोचाइमा परिवर्तन ल्याउँछ र एकता कायम पनि गर्छ ।

त्यसैगरी जेष्ठ नागरिकको शिक्षाका लागि पोर्ड शिक्षा जस्ता अस्थायी शिक्षाको व्यवस्था मिलाएर उनीहरुलाई पनि साक्षर बनाउनुपर्छ । नपढेका युवाहरुलाई कृषि लगायत अरू क्षेत्रमा रोजगार उत्पन्न गर्ने साथै भएको रोजगारीलाई लाई प्रवर्धन र विकास गर्ने कार्यक्रमको सुरुवात गर्नुपर्छ र त्यस सम्बन्धी प्रशिक्षण पनि प्रदान गर्नुपर्छ । युवा तथा महिलालाई शिक्षित बनाएर त्यहाँ जागीरको नयाँ माध्यम पनि बन्नसक्छ जसले गरिबी निवारणमा ठुलो भूमिका खेल्न सक्छ । यसैगरी जहाँ गरिबी हुँदैन त्यहाँ शिक्षाको पहुँच पुर्याउन असहज पनि हुँदैन । सुविधा वन्चित समाजका लागि शिक्षा पनि एउटा सुविधा नै हो । अर्थात शिक्षा बाटै त्यहाँ सुविधाको विकास हुँदै जान्छ ।

शिक्षाको विकासले त्यहाँ अरु सुविधाहरूको विकासमा पनि सुधार ल्याउन सक्छ किनकि शिक्षाले मानवको जीवनशैलीलाई पनि परिवर्तन गर्छ । सँगै शिक्षाकै कारण स्वास्थ लगायत अरु क्षेत्रमा विकासका लागि माग पनि हुन थाल्छ । त्यहाँ सुविधाको सम्पूर्ण आधारभूत कुरा पुर्याउन यातायात लगायत सूचना प्रविधिको विकास गर्ने नीति आवश्यक हुन्छ । ठाउँमा सुविधा पुर्याउने माध्यम यातायात र सूचना प्रविधिको विकासमा बढी ध्यान दिनुपर्छ । कुनैपनि ठाउँमा शिक्षाको विकास गर्न त्यहाँ शिक्षित व्यक्तिको आवश्यकता पर्छ । त्यसको व्यवस्था पनि सरकारले मिलाउनुपर्छ । ठाउँठाउँमा व्यावसायिक प्रशिक्षणको व्यवस्था मिलाएर बेरोजगारलाई रोजगारीको माध्यम बताउनुपर्छ । यसले समाजको अन्य समस्यालाई पनि समाधान गर्न सहयोग गर्छ ।

जीवनपर्यन्त सिकाइ जीवनले प्राप्त गर्नुपर्ने र जीवनभर चाहिने सिकाइ हो । जीवनमा सिकाएको शिक्षा सबैभन्दा महत्त्वपूर्ण हुन्छ । यो त्यस्तो शिक्षा हो जो जीवनको हरेक क्षणमा समस्याको समधान बन्छ । यसले नकारात्मकतालाई परिवर्तन गर्ने कार्य गर्छ र सकारात्मकतालाई जन्म दिन्छ । सुविधाले जीवन सरल बनाउने कार्य गरेपनि जीवनलाई अर्थ दिने कार्य व्यक्ति स्वयंले गर्छ । त्यो पनि शिक्षाको माध्यमले नै । व्यक्तिको आत्मविश्वासलाई बलियो बनाउने कार्य परिवार र समाजले गर्यो भने मानिस मानसिक रूपले आफूलाई साक्षर बनाउने प्रयत्नमा लाग्छ । शिक्षाको आरम्भ त्यहीँबाट हुन्छ । तसर्थ, शिक्षाको महत्वलाई परिवार र समाजले पनि बुझिदिनु पर्छ । त्यसैले सुविधा वन्चित समाजमा त्यहाँको व्यक्तिमा शिक्षा प्राप्त गर्ने चाहना जागृत गर्नुपर्छ । चाहनालाई वास्तविकतामा ल्याउन परिवार र समाजले प्रोत्साहन दिनुपर्छ र सहयोग गर्नुपर्छ । अनि माध्यमको विकास गर्ने कार्य देशले आफ्नो काँधमा लिनुपर्छ ।

सरकारले शिक्षा पुर्याउने माध्यम हरेक ठाउँमा वकास गर्नुपर्छ साथै सुविधाको व्यवस्था पनि मिलाउनुपर्छ । यदि व्यक्ति, परिवार, समाज र देशले आफ्नो भूमिका राम्रोसँग निर्वाह गरे जति सुकै कठिन ठाउँमा शिक्षाको दिपक जगमगाउन सक्छ । यसरी नै जीवनपर्यन्त सिकाइलाई यथार्थ जीवनमा लागु गर्न सकिन्छ नत्र यो एउटा शब्दमा मात्र सिमित रहन्छ । त्यसैले जीवनपर्यन्त सिकाइ यसरी प्रदान गर्नुपर्छ कि त्यो जीवनभर काम लागोस् । यसको अस्तित्व युगयुगसम्म बाँचिरहोस् । भविष्यमा यसको स्वरुप फेरिए पनि माध्यम परिवर्तन भएपनि शिक्षाको ज्योतिले प्रकाश नै दिनेछ जसले जीवनमा सुन्दर बनाउनेछ ।

अन्त्यमा, राष्ट्रको कर्तव्य हो जनतालाई उनीहरूको अधिकार, सुख र सुविधा दिने । त्यसैले सरकारले हरेक ग्रामीण क्षेत्रमा सुविधा पुर्याउनुपर्छ । अहिलेको समयमा विकासित सहर अझ विकासित हुँदैछ छ भने अविकासित गाउँको जस्ताको त्यस्तै छ । जसको कारण देशको सम्पूर्ण विकास भइरहेको छैन । राष्ट्रले ग्रामीण क्षेत्रमा बढी ध्यान दिएर त्यहाँ विकासको योजना लागु गर्नुपर्छ । सुविधा हरेक ठाउँमा पुर्याउनुपर्छ । सामाजिक विकास गर्नका लागि समाजले पनि आफ्नो गाउँ र आफ्नो ठाउँमा विकासका लागि सरकारको ढोका ढक्ढकाउनु पर्छ । सुविधा पनि त्यस्तो ठाउँमा मात्र पुर्याउन सकिन्छ जहाँ त्यसको माग होस् । त्यसैले हरेक ठाउँमा हरेक व्यक्तिले आफ्नो अधिकारको माग गर्नुपर्छ । शिक्षा सबैको मौलिक हक यो कुरा संविधानमा बताइएको छ र यसको अर्थ हरेक व्यक्तिको मनमा बसेको हुनुपर्छ ।

सरकारले पनि समाजले मागेको माग पूरा गर्नुपर्छ । यदि जनता र सरकारको बीचमा राम्रो सम्बन्ध भए भने कुनै पनि ठाउँमा समस्या रहँदैन । देशले यसरी कार्य गर्नु पर्यो कि कतै पनि भोकले मर्ने अवस्था आउनु हुँदैन । कुनैपनि ठाउँमा कोही पनि अशिक्षित हुनु हुँदैन । गरिबीको कारण व्यक्तिलाई निराशामा नबस्नु नपरोस् । यसका लागि हामी व्यक्ति, समाज र देशले हातेमालो गरेर काम गर्नुपर्छ र शिक्षाको प्रकाश देशको कुना कुनामा पुर्याउनुपर्छ ।

कक्षा १०, नवोदय शिशु सदन

Exit mobile version