हेटौँडाः बागमती प्रदेशको ४ जिल्लामा विभिन्न घटनामा एकैदिन ५ जनाको मृत्यु भएको छ । प्रदेशको चितवन, नुवाकोट, धादिङ र काभ्रेपलाञ्चोक जिल्लामा एकैदिन ५ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
चितवन जिल्लाको भरतपुर महानगरपालिका–१०, मालपोतचोक नजिकै पिकअप गाडिले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो १ बजेर ३० मिनेटको समयमा मालपोत चोक नजिकै बा प्र ०१–०२५ च २१०५ नम्बरको गाडिले बा प्र ६–००२ प १३११ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ३ जना घाइते भएको प्रहरीले जनाएको छ । पिकअप गाडिको ठक्करबाट स्कुटर चालक रत्ननगर नगरपालिका–१६ बस्ने ३२ वर्षीया गीता दाहाल, स्कुटर पछाडि सवार ६० वर्षीया टिका कुमारी न्यौपाने र ८ वर्षीया ग्रिस्मा न्यौपाने घाइते भएका थिए । घााइते तीनै जनालाई उपचारका लागि पुरानो मेडिकल कलेज लगिएको थियो । उपचारका क्रममा टिका कुमारीको शनिबार राती १ बजेर ५० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । गाडी चालक उदयपुर जिल्लाको चौदण्डी नगरपालिका–१० घर भई हाल भरतपुर–३ बस्ने ३२ वर्षीय सुशील खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवन जिल्लाको रत्ननगर नगरपालिका–२, सब्जीमण्डीमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । शनिबार पूर्व–पश्चिम सडकखण्डमा खैरहनीबाट टाँडीतर्फ आउँदै गरेको बस र टाँडीबाट खैरहनीतर्फ जाँदै गरेको मोटरसाइकल आपसमा ठोक्किँदा रत्ननगर नगरपालिका–१३, अमिलियाका २० वर्षीय साहिल परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार ३ जना गम्भिर घाइते भएका थिए । घाइते दुई जनाको परिचय नखुलेको प्रहरीले जनाएको छ । घाइते परियारलाई चितवनमा सामान्य उपचार पश्चात थप उपचारका लागि भारतको गोरखपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालक सिराहा जिल्लाको मिर्चैया नगरपालिका–९ का ४६ वर्षीय सुनिल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै नुवाकोट जिल्लाको ककनी गाउँपालिका–७, सिरुबारीमा एकजना वृद्ध मृत फेला परेका छन् । मृत फेला पर्नेमा ककनी गाउँपालिका–८, लामागाउँका ७१ वर्षीय असमान तामाङ रहेको प्रहरीले जनाएको छ । तामाङ कात्तिक ६ गतेदेखि घरबाट हराएका थिए । बेपत्ता तामाङको शव शनिबार राती ८ बजेर ३० मिनेटको समयमा भ्याकुरे खोलामा सडेर गलेको अवस्थामा फेला परेको थियो । अनुसन्धानको क्रममा तामाङ मानसिक सन्तुलन ठिक नभएको खुलेको प्रहरीले जानकारी दिएको छ ।
धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका–५, इसलाङमा एकजना वृद्धा मृत फेला परेकी छन् । मृत फेला पर्नेमा ७८ वर्षीया विद्यामायाँ घले रहेको प्रहरीले जानकारी दिएको छ । घले बिहीबार राती ९ बजेदेखि घरबाट हराइरहेकी थिईन् । बेपत्ता घलेको खोजी गर्दै जाँदा शनिबार दिउँसो १२ बजेर ३० मिनेटको समयमा कुवापानी स्थित तीनतले सामुदायिक वनमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा घलेको मानसिक सन्तुलन ठिक नभएको खुलेकोे छ ।
काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका–४, रावलटोलमा भर्याङ्गबाट लडेर घाइते एकजना वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७५ वर्षीया कान्छी तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । तामाङ आफ्नै घरको भर्याङ्गबाट लडेर घाइते भएकी थिईन् । घाइते तामाङलाई उपचारका लागि शिर मेमोरियल अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको भनी डाक्टरले घोषणा गरेको प्रहरीले जनाएको छ ।