स्क्राबल च्याम्पियनसीपमा सहभागी विद्यार्थीहरु ।

हेटौँडाः शब्द बनाउने प्रतिस्पर्धात्मक खेल जिल्लास्तरीय चौथो स्क्राबल च्याम्पियनसीप बुधबार हेटौँडामा सम्पन्न भएको छ । स्क्राबल क्लब मकवानपुरको आयोजना तथा हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलको प्रायोजनमा प्रतियोगिता भएको हो । प्रतियोगितामा मकवानपुर जिल्लाका २३ वटा विद्यालयबाट ४६ जना विद्यार्थी सहभागी छन् ।

प्रतियोगितामा ६ वटा सामुदायिक तथा १७ वटा निजी विद्यालयका विद्यार्थी सहभागी छन् । एउटा विद्यालयबाट दुईजना विद्यार्थी सहभागी हुने व्यवस्था मिलाइएको थियो । बालजागृति इंग्लिस सेकेण्डरी स्कूलको व्यवस्थापन समितिका अध्यक्ष दिनेशप्रसाद भण्डारीको अध्यक्षता तथा वडा अध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको हो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदीप गिरी, वडा सदस्य सुरज बर्तौला, ईन्द्रप्रसाद रिजाल, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन) का केन्द्रीय समिति उपाध्यक्ष उमेश श्रेष्ठ, जिल्ला अध्यक्ष विनोद सुवेदी, स्क्राबल क्लब मकवानपुरका अध्यक्ष विवशजंग थापाको पनि आतिथ्य रहेको थियो ।

एकदिवसीय प्रतियोगिता आयोजनाका लागि करिब एक लाख रुपैयाँ खर्च हुने बताइएको छ । विद्यार्थीको शब्दज्ञान अभिवृद्धि हुने भएकोले पछिल्लो समय मकवानपुरका स्क्राबल खेलको प्रवद्र्धन भइरहेको छ । गत असारमा बालजागृति इंग्लिस स्कूलकै आयोजनामा स्क्राबल खेलसम्बन्धी एकदिवसीय जिल्लास्तरीय कार्यशाला समेत आयोजना गरिएको थियो ।