Home कला जनप्रियको बाल बगैंचामा कवि सुवास

जनप्रियको बाल बगैंचामा कवि सुवास

हेटौंडाः जनप्रिय मावि दिव्य सेवा बाल क्लबले नियमित रुपमा सञ्चालन गरिरहेको बाल बगैंचाको चौबिसौं भागमा कवि सुवास खनाललाई प्रस्तुत गरिएको छ । बीस जना विद्यार्थीले भाग लिएको कार्यक्रमको संयोजन जनप्रियका शिक्षक युक्तलाल विश्वकर्माले गर्नुभएको थियो । कार्यक्रममा खनालले आफ्नो कविता यात्राको अनुभवका साथै साहित्यका कथा, कविता, गजल लगायतको विषयमा जानकारी प्रस्तुत गर्नुका साथै लेखनमा विद्यार्थीलाई उत्प्रेरित गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहनुभएका खनाल श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानका सचिव तथा प्रगतिशील लेखक संघको राष्ट्रिय परिषद् सदस्य पनि हुनुहुन्छ । उहाँको विचारको उल्टो नदी कविता संग्रह (२०७१) प्रकाशित छ भने ‘सपनाका अवयवै कविता संग्रह प्रकाशोन्मुख रहेको छ । पहिलो भागमा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना कुमारी लामालाई प्रमुख अतिथिका रुपमा प्रस्तुत गरेर सुरु गरिएको बगैंचाको निरन्तरताका साथ चौबिसौं भाग सञ्चालन भइसकेको छ । कार्यक्रममा विद्यार्थीको उत्सुकता र जिज्ञासा बढ्दै गइरहेको संयोजक विश्वकर्माले बताउनुभयो ।

बाल बगैंचाको यो भागमा जनप्रिय माविका प्राचार्य नमराज अर्याल, लोकदोहोरी प्रतिष्ठान मकवानपुरका कोषाध्यक्ष साधुराम राउत, अभिभावक मेघनाथ सापकोटा लगायतको उपस्थिति रहेको थियो । भर्चुअल माध्यम जुममार्फत सञ्चालन भएको कार्यक्रममा बोल्दै प्राचार्य अर्यालले सिर्जनात्मक गतिविधि सञ्चालनका लागि जनप्रिय मावि परिवार सधैं उत्प्रेरक र सहयोगी बनिरहने र यस्ता गतिविधिलाई सक्रिय गराइरहने भनाइ राख्नुभएको थियो ।

Exit mobile version