Home मुख्य समाचार प्रदेश सरकारलाई शिक्षा नीतिबारे सुझाव

प्रदेश सरकारलाई शिक्षा नीतिबारे सुझाव

हेटौंडाः बागमती प्रदेश सरकारलाई प्रदेश शिक्षा नीति २०७७ का सम्बन्धमा शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) नेपालले सुझाव बुझाएको छ । शिक्षा नीतिको मस्यौदा बनाई नागरिकस्तरबाट सुझाव मागिरहेको अवस्थामा एनसीईले ४ पेजको सुझाव बुझाएको हो ।

एनसीई बागमती प्रदेश समन्वय समितिद्वारा भाद्र १८ गते अनलाइन माध्यममार्फत् गरिएको नागरिक छलफलबाट संकलित सबै सुझावलाई प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव दिपक काफ्लेलाई हस्तान्तरण गरिएको थियो । एनसीई बागमती प्रदेश समितिका संयोजक प्रकाश खतिवडा र मकवानपुर जिल्ला संयोजक बुद्ध लामाको नेतृत्वमा पुगेको टोलीले नीति र कार्यनीतिमा थप्नुपर्ने वा स्पष्ट हुनुपर्ने प्रावधानहरुबारे सुझाव बुझाएको थियो । मन्त्रालयका सचिव काफ्लेले सुझावपत्रका लागि धन्यवाद व्यक्त गर्दै शिक्षा नीतिलाई समयसापेक्ष, जनमैत्री बनाउन भूमिका खेल्ने बताउनुभयो । प्रदेशको शिक्षा नीतिमा विद्यार्थीलाई प्रयोगात्मक र अतिरिक्त क्रियाकलापमा संलग्न गराउने पाठ्यक्रम हुनुपर्ने, तामाङ भाषाको बाहुल्य रहेकाले पढाइको माध्यम भाषा तामाङ पनि हुनुपर्ने, प्रदेश छिमेकी चीनसँग जोडिएकाले चिनियाँ भाषा सिकाएर सीमापार व्यापार गर्न सक्ने लक्ष्य लिनुपर्ने सुझाव पत्रमा उल्लेख छ ।

त्यस्तै, नीतिमा विद्यालय र विश्वविद्यालयसम्बन्धी व्यवस्था एकै ठाउँमा राखिएकाले छुट्टाछुट्टै शीर्षकमा राखी प्रदेशले गर्ने काम प्रष्ट राख्नुपर्ने, विद्यालय स्थानीय तहको अधिकारक्षेत्रमा परेकाले प्रदेशले समन्वय र सहयोग गर्ने शब्दहरु हुनुपर्ने, पाठ्यक्रम जसले प्रयोग गर्ने हो, उसैले निर्माण गर्न सक्ने बनाउनुपर्ने, प्राविधिक तथा व्यावसायिक शिक्षामा छात्राको सहभागिता बढाउन छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने लगायतका सुझाव दिईएको छ ।

Exit mobile version