Home मुख्य समाचार भर्चुअल माध्यमबाट गर्भवतीलाई परामर्श

भर्चुअल माध्यमबाट गर्भवतीलाई परामर्श

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको आयोजनामा बिहीबार भर्चुअल माध्यमबाट स्त्री तथा प्रसुती विशेषज्ञ डा. निशा राईले हेटौंडा उपमहानगरक्षेत्रका गर्भवती महिलाहरुसँग अन्तरक्रिया गर्नुभएको छ । लकडाउन र निषेधाज्ञाका कारण विशेषगरी गर्भवती महिलाहरुले नियमित चिकित्सकीय परीक्षण तथा परामर्श सेवा प्राप्त गर्न नसकिरहेका बेला उपमहानगरपालिकाले भर्चुअल माध्यमबाट चिकित्सकसँग अन्तरक्रियाको आयोजना गरिएको हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाले जानकारी दिनुभयो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले विषम परिस्थितिमा पनि स्वास्थ्य सेवालाई प्रभावकारी सञ्चालन गर्ने स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता लगायत अन्य मानवअधिकारको सेवालाई सबै नागरिक सामु पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । त्यसैगरी आगामी दिनहरुमा गर्भवती महिलाहरुको स्वास्थ्यको जटिलतालाई पहिचान गरी निशुल्क भिडियो एक्सरे सेवा प्रदान गर्न लागिएको उपमेयर मीनाकुमारी लामाले जानकारी दिनुभयो । हेटौंडा अस्पतालसँग समन्वय गरेर सबै गर्भवतीलाई स्वास्थ्य संस्थामै पुगेर प्रसुती हुने सुनिश्चित गराइने मेयर महतले बताउनुभयो ।

कार्यक्रममा सामाजिक महाशाखा प्रमुख, प्रमुख प्रशासकीय अधिकृत नवराज घिमिरे, २० वटै स्वास्थ्य इकाईका प्रमुख तथा सेवाग्राहीहरुको सहभागिता रहेको थियो ।

Exit mobile version