हेटौँडा : नेपाल सरकारले बैशाखबाट दोस्रो राष्ट्रिय आर्थिक गणना सुरु गर्ने भएको छ । बुधबार जिल्ला आर्थिक गणना कार्यालय मकवानपुरले सरोकारवालासँग अन्तरक्रिया गर्दै राष्ट्रिय आर्थिक गणनाबारे जानकारी दिएको हो ।
बैशाख २ गतेदेखि असार ७ गतेसम्म देशका सबै जिल्लाहरुमा एकैपटक सञ्चालनमा रहेका वस्तु उत्पादन तथा सेवा प्रदान गरी आर्थिक क्रियाकलापमा समावेश भएका प्रतिष्ठान तथा व्यावसायिक फर्म एवम् कम्पनीहरुको आर्थिक गणना हुने भएको हो । सरकारी प्रशासनिक कार्यालय बाहेकका सबै प्रतिष्ठानहरुमा आर्थिक गणना गरिने भएको कार्यालयले जनाएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले आर्थिक गणनाले प्रभावकारी बजेट निर्माण गर्न, राष्ट्रिय रुपमा वा विभिन्न तहका सरकारहरुलाई विश्लेषणात्मक रुपले नीति तथा कार्यक्रमहरु निर्माण गर्न सहयोग पुग्ने भएकोले आर्थिक गणनालाई निरन्तरता दिइएको बताउनुभयो । आर्थिक गणनामा आधारित भएर बजेट तथा कार्यक्रमहरु निर्माण गर्दा वास्तविक अवस्था बुझिने हुँदा तथ्यपरक र प्रभावकारी बनाउन सकिने उहाँले विश्वास व्यक्त गर्नुभयो । आर्थिक गणनामा आउने गणकहरुलाई सहयोग गर्न व्यवसायी तथा स्थानीय तह सबैलाई आग्रह गर्दै यस गणना गोप्यरुपमा हुने समेत स्पष्ट पार्नुभएको छ ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै जिल्ला आर्थिक गणना कार्यालयका सुपरीवेक्षक रुद्रबहादुर बोगटीले आर्थिक गणनाका लागि वस्तु तथा सेवा उत्पादन गर्ने औपचारिक तथा अनौपचारिक सबै प्रतिष्ठान ढुङ्गा, बालुवा तथा खनिज उत्खनन गर्ने व्यवसाय, फोहोरमैला व्यवस्थापन गर्ने संस्था, सूचना तथा सञ्चार व्यवसाय, बस्तु तथा सामानहरुको थोक तथा खुद्रा व्यवसाय, सेवा प्रदायक संस्था जस्तै लेखा परीक्षक, कानुनी सेवा, सेक्युरिटि सेवा लगायत कृषि फार्म, नर्सरी जस्ता सबै संस्थाहरुको आर्थिक विवरणहरु संकलन तथा विश्लेषण गरिने जानकारी दिनुभयो ।
जिल्लामा आर्थिक गणना सम्पन्न गर्नका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ११ सदस्यीय जिल्ला आर्थिक गणना समन्वय समिति रहेको छ । यस्तै स्थानीय तहको अध्यक्ष तथा प्रमुखको संयोजकत्वमा स्थानीय आर्थिक गणना समन्वय समिति र वडा अध्यक्षको संयोजकत्वमा आर्थिक गणना वडा समन्वय समिति रहने छन् । आर्थिक गणनाका लागि राष्ट्रिय तथ्याङ्क कार्यालयले मकवानपुरमा ५९ जना गणकहरु र ९ जना सुपरीवेक्षक नियुक्त गरिने पनि कार्यालयले जनाएको छ ।
आर्थिक गणकहरुका लागि विज्ञापन भई छनौटको प्रक्रियामा रहेको पनि कार्यालयले जनाएको छ । जिल्लामा खटिने ५९ जना गणकहरु मध्ये ३२ जना हेटौंडा उपमहानगरपालिकामा खटिनेछन् । थाहा नगरपालिकामा ५ जना, मनहरी गाउँपालिकामा ५ जना, बकैया गाउँपालिकामा ४ जना, बागमती र मकवानपुरगढी गाउँपालिका, इन्द्रसरोवर, राक्सिराङ र भिमफेदी गाउँपालिकहरुमा २ जना र कैलाश गाउँपालिकामा १ जना आर्थिक गणक रहने समेत कार्यक्रममा जनाइएको छ ।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाटको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, जिल्ला आर्थिक गणना कार्यालयका प्रमुख देवेन्द्रलाल कारञ्जित, शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख सुदिप गिरी, प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीको उपस्थिति रहेको थियो । नेपालमा २०७५ सालमा पहिलोपटक आर्थिक गणना गरिएको थियो । अर्थतन्त्र मापनका लागि आर्थिक गणना नारासहित दोस्रोपटक राष्ट्रिय आर्थिक गणना हुन लागेको हो ।
