हेटौँडाः दीगो विकासका लक्ष्यसम्बन्धमा हेटौँडामा छलफल सुरु भएको छ। तीन दिनसम्म सञ्चालन हुने छलफलमा हेटौँडा उपमहानगरपालिका विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको छ।
संयुक्त राष्ट्र संघीय शिक्षा, विज्ञान, साँस्कृतिक संगठन (युनेस्को) को आयोजना तथा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरको सहजीकरणमा बिहिबार हेटौँडा(२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको सभाहलमा हेटौँडा उपमहानगर क्षेत्रका विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, सामुदायिक अध्ययन केन्द्रका प्रतिनिधि, विद्यालय तथा विश्वविद्यालय तहका विद्यार्थी, सेवा निवृत्त शिक्षकको सहभागी छन्।
कार्यक्रममा दीगो विकास लक्ष्यको अवधारणा र सिद्धान्त, दीगो विकासको सन्दर्भमा मकवानपुर जिल्लाको अवस्था, दीगो विकास लक्ष्य कार्यान्वयनमा विभिन्न निकायको भूमिकाको विषयमा छलफल हुनेछ। यस्तै अन्तरपुस्ता ज्ञान, सीप हस्तान्तरणका व्यवहारिक पक्षहरु, पुराना पुस्ता र नयाँ पुस्ताबीच अनुभव आदानप्रदान हुनेछ। कार्यक्रममा युनेस्कोकी सचिवालयका सचिव डा। दिव्या दवाडी, अधिकृत दीपक भण्डारी र शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरकी निमित्त प्रमुख उन्नति ढकालले सहजीकरण गर्नु हुनेछ।
