प्रतिनिधिसभा सदस्य निर्वाचनपछि राजनीतिक दलहरुको हैसियतमा व्यापक परिवर्तन आएको छ । फागुन २१ गते मतदान सम्पन्न भई निर्वाचन परिणाम प्राप्त भएसँगै राजनीतिक दलहरुको हैसियत परिवर्तन भएको हो । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फका एक सय ६५ क्षेत्रकै मतगणना सम्पन्न भएर नतिजा सार्वजनिक भइसकेको छ । समानुपातिक निर्वाचन प्रणालीको पनि अधिकांश क्षेत्रको मतगणना सम्पन्न भएकाले कुन राजनीतिक दलको कति सांसद निर्वाचित हुने भन्ने निश्चितजस्तै भएको छ । समानुपातिकको मतगणना सम्पन्न भएर सिट बाँडफाँडपछि दलहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सांसदको संख्या निश्चित हुनेछ । यस पटकको निर्वाचनमा मतगणनाको प्रारम्भीक नतिजाकै आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा ठूलो दल हुने निश्चित भइसकेको भए पनि अन्य दलहरुको अवस्था के हुने भन्ने अनिश्चितता पनि अब लगभग समाप्त भएको छ ।
२०७९ सालको निर्वाचनको केही महिनाअघि स्थापना भएर उक्त निर्वाचनमा चौथो दल बन्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिलेको निर्वाचनमा सबैभन्दा ठूलो दल बन्न सफल भएको छ । विवेकशील साझा दलसमेत गाभिएको रास्वपामा काठमाडौँ महानगरपालिकाका चर्चित मेयर बालेन साहको प्रवेशसँगै रास्वपाको पक्षमा व्यापक जनसमर्थन पैदा गराएको निर्वाचन परिणामले पुष्टि गरेको छ । रास्वपाले प्रत्यक्षतर्फको एक सय ६५ सिटमध्ये एक सय २५ सिट जितेको छ । समानुपातिकतर्फ ५० लाखभन्दा बढी मत पाएको रास्पाले थप ५८ सिट पाएर एक सय ८३ सदस्य प्रतिनिधिसभामा पु¥याउने अनुमान गरिएको छ । दुई तिहाइ बहुमत हासिल गर्न रास्वपालाई एक–दुई सिट कम हुने अवस्था बन्ने देखिएको छ ।
यसअघिको निर्वाचनमा पहिलो दल बनेको नेपाली कांग्रेसले यस पटकको निर्वाचनमा प्रत्यक्षतर्फ १८ सिट जितेर दोस्रो ठूलो दल बनेको छ । समानुपातिक मत १७ लाखभन्दा बढी रहेको कांग्रेसको भागमा १९ सिट थप भएर ३७ जना सदस्य पुग्ने अनुमान छ । विगतको निर्वाचनमा दोस्रो ठूलो दल रहेको र तत्कालीन सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले प्रत्यक्षतर्फ ९ सिटमात्र जितेको छ । समानुपातिकबाट १९ सिट पाउने अनुमान रहेको एमाले कुल २६ सदस्यसहित तेस्रो ठूलो दल हुने सम्भावना रहेको छ । २०७९ को निर्वाचनमा तेस्रो ठूलो दल रहेको नेकपा माओवादीसहित एकीकृत समाजवादी र अन्य झण्डै दुई दर्जन दलहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले प्रत्यक्षतर्फ ७ सिटमात्र जितेको छ । समानुपातिकबाट ९ सिट थपेर १६ जना सदस्य पु¥याउँदै चौथो ठूलो दल बन्ने सम्भावना देखिएको छ । प्रत्यक्षतर्फ ३ सिट जितेर नयाँ दलको रुपमा उदाएको श्रम संस्कृति पार्टीले समानुपातिकबाट ४ सिट थप गरेर ७ जना सदस्यसहित पाँचौँ र एक सिट प्रत्यक्षबाट जितेर समानुपातिकबाट ४ सिट थप गर्दै ५ सदस्य पु¥याएर राप्रपा छैटौँ ठूलो दल हुने सम्भावना रहेको छ ।
जेनजी आन्दोलनपछिको राजनीतिक अवस्था पुराना दलहरुप्रति प्रतिकूल रहेको र नयाँ वैकल्पिक शक्तिप्रति विश्वास कायम नभएको अवस्थामा यस पटकको निर्वाचनमा पनि कुनै दलको बहुमत नआउने धेरैको अनुमान गलत भएको छ । रास्वपामा बालेन साहको प्रवेशसँगै देशव्यापी सकारात्मक माहोल बन्दै गएको रास्वपालाई मतदाताले बहुमतमात्र नभई दुई तिहाइकै हाराहारीमा पु¥याइदिएका छन् । रास्वपाका पक्षमा जनमत अस्वभाविकरुपमा प्रकट हुँदा बलिया र पुराना भनिएका दलहरुको अवस्था निकै कमजोर बन्न पुगेको छ । अबको दिनमा रास्वपाले निर्धक्क सरकार सञ्चालन गर्ने र अन्य सबै दलहरु प्रतिपक्षमा बस्नुपर्ने अवस्थाले दलहरुको हैसियतमा व्यापक परिवर्तन भएको मान्न सकिन्छ ।
