Home मुख्य समाचार इन्द्रसरोवर र मनहरीमा दुर्घटना, ३ जना घाइते

इन्द्रसरोवर र मनहरीमा दुर्घटना, ३ जना घाइते

हेटौँडा : मकवानपुरको दुई पालिकामा मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सोमबार इन्द्रसरोवर र मनहरी गाउँपालिकामा ३ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

इन्द्रसरोवर गाउँपालिका–४, स्याउली बजार नजिक फाखेल–हुमाने सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । सोमबार दिउँसो ४ बजेर १० मिनेटको समयमा पुरण्डीबाट राकसखोलातर्फ जाँदै गरेको बा ३१ प ४४०० नम्बरको मोटरसाइकल ओरालोमा अनियन्त्रित भई सडकको बायाँतर्फको नालीमा खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक राकसखोला बस्ने ५५ वर्षीय रामबहादुर गोले र पछाडि सवार उनकी श्रीमती ५० वर्षीया संगीता गोले घाइते भएका छन् । उनीहरूका काठमाडौंस्थित ट्रमा सेन्टर उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–८, भलादमीचोकमा अटो र मोटरसाइकल ठोक्किँदा एक बालक घाइते भएका छन् । सोमबार साँझ ५ बजेर ५० मिनेटको समयमा ज्यामिरेबाट मनहरीतर्फ आउँदै गरेको ना २ ह ५०७१ नम्बरको अटोलाई सोही दिशाबाट आउँदै गरेको प्रदेश २–०३–०१२ प ८७६४ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अटोमा सवार मनहरी गाउँपालिका–९, ज्यामिरे बस्ने ७ वर्षीय आवास प्रजा टाउकोमा चोट लागेर घाइते भएका छन् । उनको मनहरी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि चितवनको पुष्पाञ्जली अस्पताल, भरतपुर रिफर गरिएको छ । अटो चालक मनहरी–९, ज्यामिरे बस्ने ३८ वर्षीय रामशरण मोक्तान प्रहरी नियन्त्रणमा छन् भने दुर्घटनामा संलग्न मोटरसाइकल चालक र पछाडि सवार व्यक्ति भने मोटरसाइकल घटनास्थलमै छाडेर फरार भएका छन् । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Exit mobile version