Home मुख्य समाचार पूर्वसांसद सिंहको धरौटी जफत

पूर्वसांसद सिंहको धरौटी जफत

हेटौँडा: प्रतिनिधिसभा सदस्य निर्वाचन–२०७९ मा मकवानपुर–१ बाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बहादुर सिंह यसपटक पराजित भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा सिंहको धरौटी नै जफत हुने गरी पराजित भएका हुन् । कुल सदर मतको १० प्रतिशत नपुग्दा सिंहको धरौटी जफत भएको हो ।

यसपटकको निर्वाचनमा सिंहले ४ हजार ५ सय ७५ मत मात्रै पाए । २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिंह २७ हजार ८५१ मतसहित निर्वाचित भए थिए । नेकपा एमालेको निर्वाचन चिन्ह सूर्य लिएर चुनावी मैदानमा उत्रिएका आफ्ना गुरु कमल थापालाई तेस्रो स्थानमा राख्दै विजयी भएका सिंह संघीय संसदको पूर्वाधार विकास समितिको सभापति समेत बनेका थिए । मकवानपुर–१ मा सिंहसँगै मकवानपुर–२ का राप्रपाकै उम्मेदवार राम बहादुर थोकरको पनि धरौटी जफत भएको छ । थोकरले ७ सय ८५ मत मात्र प्राप्त गरे ।

मकवानपुर–१ मा श्रम संस्कृति पार्टीसहित अन्य दलका उम्मेदवार र १० जना स्वतन्त्र उम्मेदवारहरु गरी १८ उम्मेदवारहरुको धरौटी जफत भएको प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो । मकवानपुर–१ मा ८६ हजार ७ सय २४ मत सदर भएको थियो ।

यस्तै मकवानपुर–२ मा पनि ४ दलका उम्मेद्वार बाहेक अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरुको धरौटी जफत भएको छ । मकवानपुर–२ मा उज्यालो नेपाल पार्टीका प्रविण कुमार स्याङ्तानले ६ हजार २ सय ३७ मत मात्र प्राप्त गर्नुभएको छ । मकवानपुर–२ मा ८५ हजार ६ सय १९ मत सदर भएको थियो । मकवानपुर–२ मा १७ वटा दलका तथा स्वतन्त्र उम्मेद्वारहरुको धरौटी जफत हुने पनि प्रमुख निर्वाचन अधिकारी ढकालले बताउनुभयो ।

Exit mobile version