हेटौँडा : निर्माणाधिन काठमाडौं–तराई/मधेश द्रूतमार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८, महादेवटारस्थित सुरुङमा खटिएका मजदुर घाइते भएका छन् ।
आइतबार बिहान साढे ११ बजेको समयमा सुरुङभित्र निर्माण कार्य गर्दै गरेका कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका–२, कन्जका ३४ वर्षीय राम मिलन राना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । २० मिटर माथिबाट तल खसेर घाइते भएका रानालाई उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पतालमा ल्याइएको छ । रानाको मेरुदण्डमा भित्रि चोट भएको र अवस्था मध्यम रहेको प्रहरीले उल्लेख गरेको छ ।
