Home मुख्य समाचार ‘आमसभा बिनाको आमनिर्वाचन’, प्रमुख दलहरुले नै गरेनन् चुनावी आमसभा

‘आमसभा बिनाको आमनिर्वाचन’, प्रमुख दलहरुले नै गरेनन् चुनावी आमसभा

हेटौँडा : आमनिर्वाचनको रुपमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन मिति नजिकिँदै गर्दा मकवानपुरमा आमसभाका कार्यक्रम अधिकांश दलले राखेका छैनन् । फागुन ११ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हेटौँडा–४, हुप्रचौरमा आमसभा आयोजना गरेको थियो । आमसभालाई रास्वपा सभापति रवि लामिछाने तथा केन्द्रीय सहप्रवक्ता रमेश प्रसाईंसहित उम्मेदवारहरुले सम्बोधन गरेका थिए । रास्वपा वरिष्ठ नेता बालेन्द्र साहले पनि सम्बोधन गर्ने भनिए पनि उनी अनुपस्थित रहे ।

अन्य नयाँ तथा पुराना दलहरुले भने मकवानपुरमा आमसभा गरेका छैनन् । उनीहरुले कार्यक्रम निर्धारण गर्दा नै पालिकास्तरीय कोणसभा र वडास्तरीय घरदैलो बाहेकका कार्यक्रममात्र तोकिएका थिए । प्रचारप्रसार कार्यक्रमको मिति सकिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टीले बाहेक अन्य नयाँ र पुराना स्थापित दलहरुले आमसभा नगरी कोणसभा र घरदैलोलाई नै प्राथमिकता दिइरहेकोे देखिन्छ । यो निर्वाचन अरुबेलाको जस्तो सामान्य परिवेशमा सम्पन्न हुन लागेको नभई विशेष तरिकाले घोषित निर्वाचन कार्यक्रम हो । सामान्यतया ५ वर्षमा सम्पन्न हुने निर्वाचन भदौ २३ र २४ को जेनजी आन्दोलनका कारण तत्कालीन सरकार हटेपछि बनेको सुशीला कार्की नेतृत्वको चुनावी सरकारले देशलाई सामान्य अवस्थामा फर्काउन र संविधानको रक्षार्थ यो निर्वाचन घोषणा गरिएको थियो ।

वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्लेले विभिन्न दलहरुले आ–आफ्नै परिवेशका कारण आमसभालाई प्राथमिकता नदिएको हुन सक्ने बताउनुभयो । उहाँले कतिपय दलका केन्द्रीय नेताहरुलाई आम निर्वाचनमा सबै स्थानहरुका आमसभामा सहभागी हुँदै हिँड्न पर्याप्त समय नभएको, कुनै दलले केन्द्रीय स्तरबाटै आमसभा नगर्ने नीति लिएका कारण निर्वाचनको कार्यक्रममा मकवानपुरमा आमसभा हुन नसकेको हुन सक्ने बताउनुभयो । झापा, चितवन, कास्की, जनकपुरलगायत तराई क्षेत्रमा धेरैजसो आमसभा भएको भन्दै अधिवक्ता काफ्लेले देशका अधिकांश स्थानमा कुनै दलले पनि आमसभा नगरेको देखिएकाले मकवानपुर पनि आमसभा गर्ने जिल्लामा नपरेको हुनसक्ने उहाँको आँकलन छ ।

आन्दोलनले स्थापित दलहरुको अवस्था र नयाँ भनिएका दलहरुको अवस्थामा समेत फरक देखिएपछि निर्वाचन हुन लागेको हुनाले फरक वातावरण हुनु सामान्य भएको पूर्वशिक्षक देवप्रसाद श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार पुराना दलका सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै जेनजी आन्दोलन भए पनि नयाँ भनिएका दलहरु पनि आर्थिक विवादमा मुछिएका कारण जनमत कसको पक्षमा जान्छ भन्ने स्पष्ट अवस्था छैन । यसकारण पनि पुराना दलहरु आमसभा गर्न साहस गर्न सकेका छैनन् । राष्ट्रिय स्वतन्त्र पार्टीमा जनलहर बढेकोले उत्साहित भएर आमसभा गरेको उहाँको निष्कर्ष छ । अन्य दलको पकेटको मतमात्रै प्राप्त हुने शंका गरेकोले पनि आमसभा गर्न नसकेको श्रेष्ठको विश्लेषण छ ।

वरिष्ठ पत्रकार प्रताप बिष्ट भने निर्वाचन खर्च बढ्ने कारणले पुराना स्थापित दलहरुले आमसभा नगरेको हुनसक्ने बताउनुहुन्छ । ठूला आमसभा गर्दा सवारीमा आममानिस तथा कार्यकर्ताहरु कार्यक्रम स्थलसम्म ल्याउने–लैजाने गर्दा धेरै खर्च हुने हुँदा यसबाट बच्न आमसभा नगरेर अधिकांश दलले घरदैलोलाई प्राथमिकता दिएको उहाँको विश्लेषण छ । पुराना स्थापित दलहरुका केन्द्रीय नेताहरुसँगको असन्तुष्टिका कारण पनि अधिकांश दलहरुले आमसभा आयोजना गर्न नचाहेको हुनसक्ने विष्टको भनाइ छ । उहाँका अनुसार यतिखेर उम्मेदवारहरु तथा केन्द्रीय नेताहरु उपस्थित भई आमसभा गर्दैमा जनमत बढ्ने अवस्था नरहेको कुरालाई मध्यनजर गरिएको छ । नेता आएर चर्को भाषण गर्दा मतदाताको माहोल अझै बिग्रनसक्ने स्थानीय नेताहरुले बुझेका कारण पनि आमसभाजस्ता भव्य कार्यक्रम नगरिएको हो । यस्तै निर्वाचन आयोगको आचारसंहितामा कडाइ गरेको बैँकमार्फत पारदर्शी निर्वाचन खर्च देखाउन बाध्य हुने भएकाले पनि आमसभा नगरिएको हुनसक्ने बिष्टले आँकलन गर्नुभएको छ ।

पछिल्लो समय आम जनसमुदायमा आमसभामा बसेर नेताको कुरा धैर्यसाथ सुन्ने फुर्सद नभएको देखिएको अमर मावि हेटौँडाकी प्रधानाध्यापक मालती उप्रेती बताउनुहन्छ । नेताका योजना तथा कार्यक्रमबारे सुन्ने रुचि घटेको भन्दै उहाँले घरदैलो बढी प्रभावकारी हुने देखेर आमसभा नगरिएको हुनसक्ने बताउनुभयो । पछिल्लो समय नेपालीहरुमा एक अर्काको विचारको सम्मान गर्ने संस्कारको कमी हुँदै गएको उहाँको भनाइ छ । यस्तै, जेनजी आन्दोलन पश्चात पुराना दलका अनुयायी सर्वसाधारण तथा कार्यकर्ताहरुसमेत आफ्ना दलको कार्यक्रममा देखा पर्न असहज मान्ने गरेको भन्दै आफ्नो दलप्रति आस्था राखेपनि नखुल्ने अवस्था मनन गर्दै राजनीतिक दलहरुले आमसभा नराखेको उहाँको विचार छ ।

Exit mobile version