Home मुख्य समाचार रामेछाप बस दुर्घटना अपडेटः मृतक १२ जनामध्ये १० जनाको सनाखत

रामेछाप बस दुर्घटना अपडेटः मृतक १२ जनामध्ये १० जनाको सनाखत

रामेछाप : रामेछाप जिल्लाको रामेछापको मन्थली नगरपालिका–६ बेनिघाट पुल नजिक भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १२ जना पुगेको छ भने ८ जना घाइते भएका छन् । मंगलबार बिहान १० बजेर ४० मिनेटका समयमा काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको प्रदेश बा प्र ००१–०५ ख ९९७५ नम्बरको अरनि यातायातको बस तामाकोशी नदीमा खसेको प्रहरीले जानकारी दिएको छ ।

बसमा सवार २० जना मध्ये १२ जनाको घटनास्थल मा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । अहिलेसम्म मृतक १० जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ का ३८ वर्षीय भीमबहादुर तामाङ, सोही वडाकी ३५ वर्षीया सानुमाया तामाङ, २६ वर्षीया रमिता तामाङ र ३१ वर्षीया तारा तामाङ, लिखु तामाकोशी–४ की २२ वर्षीया बबी तामाङ र २६ वर्षीय दीपेन्द्र बस्नेत, लिखु तामाकोशी–६ का दीपेश बस्नेत र लिखु–६ की ४५ वर्षीया मानकुमारी बरुवाल, सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का ३४ वर्षीय शिव श्रेष्ठ र दोलखाको भीमेश्वर नगरपालिका–८ का ६० वर्षीय मानबहादुर तामाङ रहेका मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा केशवसिंह धामीले जानकारी दिनुभयो । मृतक दुई जनको सनाखत हुन बाँकी रहेको उहाँले बताउनुभयो ।

दुर्घटना परेर ८ जना घाइते भएका छन् । घाइते हुनेमा रामेछापको खाँडदेवी गाउँपालिका–३ का २१ वर्षीय समिर श्रेष्ठ, ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका–२, का ४५ वर्षीय जय बहादुर तामाङ, दोलखा जिल्लाको भिमेश्वर नगरपालिका–७ की १६ वर्षीय निलिमा तामाङ, उमाकुण्ड गाउँपालिका–७ की ६ वर्षीया निष्मा शेर्पा, ५२ वर्षीय सोम देण्डी शेर्पा, मन्थलि–१२ की ३३ वर्षीया देवकी खड्का, लिखु तामाकोशी–४ का ५१ वर्षीय ओलक बहादुर तामाङ रहेका छन् । घाइते ७ जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ । भने सामान्य उपचार पश्चात चालक मन्थली नगरपालिका–११ का ३१ वर्षीय सुशान्त थापा मगरलाई उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version