Home मुख्य समाचार छुट्टाछुट्टै घटनामा एकैदिन २ जनाको मृत्यु

छुट्टाछुट्टै घटनामा एकैदिन २ जनाको मृत्यु

सांकेतिक तस्वीर ।

हेटौँडा : बागमती प्रदेशको २ जिल्लामा एकैदिन २ जनाको मृत्यु भएको छ । प्रदेशको धादिङ र नुवाकोट जिल्लामा आइतबार २ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

नुवाकोटको तार्केश्वर गाउँपालिका–५ गोस्र्याङमा घर भई हाल काठमाडौं महानगरपालिका–१५ स्वयम्भू बस्ने ४१ वर्षीया गंगामाया तामाङको घाँटीमा मासु अड्किएर मृत्यु भएको छ । ल्होछार मनाउन आफ्नै दिदीको घर तार्केश्वर गाउँपालिका–५ गोस्र्याङ गएकी तामाङको सोमबार बेलुका ८ बजेको समयमा खाना खाने क्रममा घाँटीमा मासु अड्किएको थियो । उपचारका लागि उनलाई त्रिशूली अस्पताल लगिएकोमा राती १० बजेर ४५ मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकरी दिएको छ ।

धादिङको थाक्रे गाउँपालिका–६ दशकिला स्थित पृथ्वीलोकमार्गमा दुई वटा बस एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ५ घाइते भएका छन् । आइतबार बिहान ७ बजेर ३० मिनेटको समयमा दाङबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.३–०१–००६ ख १५५२ नम्बरको बस र विपरीत दिशाबाट (काठमाडौं–रसुवा रिजर्भ) जाँदै गरेको बा.प्र.०१–००६ ख ५२०६ नम्बरको बस ठोक्किँदा दुर्घटना भएको थियो भने ठक्करपछि बस नजिकैको टिनले छाएको कच्ची खाजा पसलमा समेत ठोकिएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा खाजा पसलमा चिया खाँदै गरेका धादिङ धुनिवेशी नगरपालिका–९ स्याउले बस्ने ३५ वर्षीय सुजन तामाङ गम्भीर घाइते भएका थिए भने पसल साहु बाँके बैजनाथ गाउँपालिका–१ का ५४ वर्षीय खगेश्वर शर्मा, उनकी श्रीमती ४४ वर्षीया पद्मा शर्मा, बसमा सवार ८ वर्षीया सफलता पुलामी मगर, दाङ तुलसीपुर–कपुरकोट गाउँपालिका–६४६ वर्षीय दिलिप महतरा तथा सल्यान कपुरकोट–५ घर भई हाल काठमाडौं बस्ने ४५ वर्षीय बिरबहादुर महतरा घाइते भएका छन् । गम्भिर घाइते सुजनलाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको छ । १५५२ नम्बरको बस चालक दाङ जिल्लाको तुलसिपुर उपमहानगरपालिका–६ का २४ वर्षीय सन्तोष नेपाली ५२०६ नम्बरको बस चालक रसुवा जिल्ला उत्तरगया नगरपालिका–४ का ४२ वर्षीय राज कुमार वाईवालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Exit mobile version