हेटौँडाः हेटौँडा–६ स्थित प्रज्ज्वल शिक्षा सदन इङ्गलिस स्कुुलको ३६ औँ वार्षिक अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार विद्यालय व्यवस्थापन समितिको अध्यक्ष महेन्द्रकुमार श्रेष्ठको सभाध्यक्षतामा कार्यक्रम भएको प्रधानाध्यापक गणेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति र शैक्षिक प्रदर्शनी गरेका थिए । अभिभावक भेलाको अवसरमा विद्यालयले अस्मिता दमाई नेपालीलाई उत्कृष्ट शिक्षकको रुपमा ५ हजार रुपैयाँ नगदसहित प्रशंसापत्रले सम्मानित गरेको छ । नियमित शुल्क भुक्तानी दिने अभिभावक शर्मिला गौतम र युनिसा पाण्डे, ताजा र स्वस्थकर खाजा पठाउने अभिभावक भगवती महत र सुष्मिता बर्ताैलालाई अभिभावक भेलाको अवसरमा विद्यालयले सम्मान गरेको छ ।
यस्तै, सफा पोसाकसहित स्वास्थ्य र सरसफाईमा ध्यान दिने अभिभावक सुष्मिता दाहाल र पुनम दास, आफ्ना बाबुनानीलाई सर्वाधिक विद्यालय उपस्थिति गराउने रामकुमारी थापा र अनिता लम्साललाई पुरस्कारसहित सम्मान गरिएको प्रधानाध्यापक श्रेष्ठले बताउनुभयो ।
कार्यक्रम अन्तर्गत विद्यालयले अभिभावक म्युजिकल चेयर प्रतियोगिता आयोजना गरेको थियो । करिब ४० जना सहभागी उक्त प्रतियोगितामा संगीता घिमिरे प्रथम, ममता श्रेष्ठ द्वितीय र तृतीय स्थान हासिल गर्नुभएका कविता श्रेष्ठलाई पनि पुरस्कृत गरिएको प्रधानाध्यापक श्रेष्ठले बताउनुभयो । सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालित विद्यालयमा १ सय २२ जना विद्यार्थीहरु अध्ययनरत छन् । विद्यालयमा कक्षा ५ सम्म पठनपाठन हुन्छ ।
हेटौँडा उपमहानगरपालिकाकी नगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष शम्भु रिमाल, शिक्षक अभिभावक संघकी निवर्तमान अध्यक्ष सञ्जिता थापा र निवर्तमान लेखापाल ईसा गुरूङलाई सम्मान गरिएको छ ।
