हेटौँडा : हेटौँडा–५, पिप्लेस्थित बालज्योति माध्यामिक विद्यालयको आयोजनाका भएको रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन् । विद्यालयको ५० औँ वार्षिकोत्सव (स्वर्ण जयन्ती) को अवसरमा रक्तदान शनिबार विद्यालय परिसरमै रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।
आरपी थपलियाको संयोजकत्वमा भएको रक्तदान कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, पूर्वविद्यार्थी, अभिभावक तथा स्थानीय जनप्रतिनिधिहरुले रक्तदान गरेका हुन् । रक्तदान कार्यक्रममा रक्तसंचार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको केन्द्रका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो । दैनिक जसो रक्तदान कार्यक्रम भएकाले केन्द्रमा अहिले रक्तअभाव नरहेको प्राविधिक सापकोटाले जानकारी दिनुभयो । आइतबार हेटौँडा–८ कमानेमा रहेको आरएन केमिकल, सोमबार निजगढमा प्रणामी मन्दिरको आयोजनामा र मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको आयोजनामा रक्तदान कार्यक्रम हुने प्राविधिक सापकोटाले जानकारी दिनुभएको छ ।
यस्तै विद्यालयमा रहेका पूर्वविद्यार्थी समाजले शनिबार पूर्वविद्यार्थीहरुका लागि घैंटो फुटाउने कार्यक्रम आयोजना गरेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्रनाथ पोखरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा–५ का वडाध्यक्ष सुशील घिमिरेको प्रमुख आतिथ्य रहेको थियो । विद्यालयले माघ १९ गतेदेखि माघ २८ गतेसम्म विभिन्न खेलकुद प्रतियोगिता र मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरी स्वर्ण जयन्ती मनाउँदैछ ।
