Home खेलकुद नगरस्तरीय क्रिकेटको उपाधि भुटनदेवी माविलाई

नगरस्तरीय क्रिकेटको उपाधि भुटनदेवी माविलाई

उपाधि विजेता भुटनदेवी माविको क्रिकेट टिम ।

हेटौँडा : नगरस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयले जितेको छ । शनिबार हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको खेलमैदानमा भएको फाइनल खेलमा हेटौँडा–४ स्थित श्रमिक माविलाई ८७ रनले हराउँदै भुटनदेवीले उपाधि जितेको हो ।

टस जितेर व्याटिङ गरेको भुटनदेवी माविले निर्धारित १० ओभरमा ९ विकेटको क्षतिमा १२६ रन बनाएको थियो । भुटनदेवी माविका लागि सन्देश यादवले ३१ बलमा ६४ रनको योगदान गरे । १२७ रनको लक्ष्य पाएको श्रमिक माविले निर्धारित १० ओभरमा ८ विकेटको क्षतिमा ३९ रन मात्रै बनाउन सफल भयो । फाइनल खेलको म्यान अफ द म्याच भुटनदेवी माविका सन्देश यादव घोषित भए ।

शुक्रबारबाट सुरु भएको प्रतियोगितामा ६ वटा विद्यालयको सहभागिता रहेको थियो । सेमिफाइनल खेलमा आधुनिक राष्ट्रिय माविलाई हराउँदै भुटनदेवी मावि फाइनल प्रवेश गरेको थियो भने सिद्धार्थ शिशु सदनलाई हराउँदै श्रमिक मावि फाइनल प्रवेश गरेको थियो । प्रतियोगितामा हेटौँडा–८ स्थित चन्द्रोदय माध्यमिक विद्यालय र हेटौँडा–११ स्थित हेटौँडा एकेडेमीको पनि सहभागिता रहेको थियो । विद्यालयमा परीक्षा सञ्चालन भइरहेकोले केही विद्यालयहरु सहभागी हुन नसक्दा ६ वटा मात्रै विद्यालयबीच प्रतियोगिता आयोजना गर्नु परेको संयोजक तथा भुटनदेवी माध्यमिक विद्यालयका शिक्षक प्रकाश सुुवेदीले जानकारी दिनुभयो ।

हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडाको आयोजना तथा भुटनदेवी माध्यमिक विद्यालयको व्यवस्थापनमा नगरस्तरीय क्रिकेट प्रतियोगिता शुक्रबारबाट सुरु भएको थियो । प्रतियोगिताका विजेता तथा उपविजेतालाई फागुन ७ गते वडा कार्यालयले कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गर्ने प्रतियोगिताका संयोजक प्रकाश सुवेदीले जानकारी दिनुभयो ।

Exit mobile version