Home खेलकुद तुलसीमेहर मेमोरियल स्कुलको खेल सप्ताह सुरु

तुलसीमेहर मेमोरियल स्कुलको खेल सप्ताह सुरु

परेवा उडाएर खेल सप्ताहको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि वडाध्यक्ष फूर्वा दोर्जे लामा ।

हेटौँडा : हेटौँडा–१० स्थित तुलसीमेहर मेमोरियल स्कूलको खेल सप्ताह सुरु भएको छ । मंगलबार विद्यालयका प्रिन्सिपल कमल नेपालको सभाध्यक्षता तथा वडाध्यक्ष फूर्वा दोर्जे लामाको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन समारोह भएको थियो ।

विद्यालय परिसरमै पाँच कक्षासम्मका विद्यार्थीको खेल आयोजना भइरहेको छ भने ६ कक्षादेखि १२ कक्षासम्मका विद्यार्थीको खेल वन विज्ञान अध्ययन संस्थानको खेलमैदानमा भइरहेको छ । प्रतियोगिता अन्तर्गत मंगलबार बिहान भएको दौड प्रतियोगितामा कक्षा ८ र ९ को १०० मिटर दौडको छात्रतर्फ जेनिसा लोप्चन प्रथम, स्वस्तिका बोम्जन द्वितीय र नियान्ता रायमाझी तृतीय भएका छन् । यस्तै २०० मिटर छात्रतर्फ ८ र ९ कक्षामा अध्ययनरत विद्यार्थी ज्वाला खनाल प्रथम, सक्षम श्रेष्ठ द्वितीय र समूल मोक्तान तृतीय भएका छन् । छात्रातर्फ ६ देखि ९ कक्षासम्मका विविशा श्रेष्ठ प्रथम, जेनिसा लोप्चन द्वितीय, सोसाङ पाख्रिन तृतीय भएकी छन् ।

४ सय मिटर दौडको छात्रातर्फ जेनिसा लोप्चन, सुहाङ, स्वस्तिका र बीपीसा थिङ प्रथम, सायना श्रेष्ठ, सृष्टि मोक्तान, सृष्टि गुरुङ र तिर्सना गुरुङ द्वितीय, रिया दोङ, बिप्सिका गोले, रोजी घिमिरे, सोसाङ लामा तृतीय भएका छन् । छात्रतर्फ निराजन, वियाम, नारसाङ, अंशु प्रथम भएका छन् । यस्तै साङ्गे, अमन, आयाम, आरभ द्वितीय र विज्ञान, अमोञ्ज, प्रशिस र मानिस तृतीय भएका छन् । खेलकुद सप्ताह शुक्रबारसम्म सञ्चालन हुनेछ ।

आज बुधबार फुटबल, भलिबल, दौड, रिले र सर्टपुट सदनगत हुने प्रिन्सिपल नेपालले जानकारी दिनुभयो । कक्षा ११ र १२ का विद्यार्थीहरूलाई फुटबल, भलिबल, दौडका साथै क्रिकेट प्रतियोगिताको पनि आयोजना गरिएको छ । कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई एसइइको तयारी परीक्षाका लागि खेलकुद सप्ताहमा समावेश गराइएको छैन । प्रतियोगितामा कक्षा ११ र १२ का ५ सय जना विद्यार्थी सहभागी हुनेछन् भने १ देखि ९ सम्मका करिब ८०० जना विद्यार्थी सहभागी हुने उहाँले जानकारी दिनुभएको छ । पाँच कक्षासम्मका विद्यार्थीलाई गुच्चा चम्चा दौड, बोरा दौड लगायतका मनोरञ्जनात्मक खेलकुद कार्यक्रमहरू सञ्चालन गरिने छ ।

प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई विद्यालयले खेलकुद सप्ताह पश्चात् पुरस्कार वितरण कार्यक्रमको आयोजना गरी सिल्ड र मेडल प्रदान गर्ने उहाँले जानकारी दिनुभयो । १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा हाल एक हजार २ सय जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

Exit mobile version