हेटौँडा : जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले आगामी माघ २५ गतेदेखि फागुन २२ गतेसम्म पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपीभी (सिकोलिन) खोप सेवा सञ्चालन गर्ने भएको छ । सोमबार हेटौँडामा सञ्चारकर्मीहरु तथा सरोकारवालासँग अन्तरक्रिया गर्दै स्वास्थ्य कार्यालय मकवानपुरले खोप कार्यक्रमबारे जानकारी दिएको हो ।
पाठेघरको मुखको क्यान्सर बिरुद्ध किशोरीहरुलाई एचपीभी खोप सेवा दिने नेपाल सरकारको कार्यक्रम अनुसार खोप सेवा कार्यक्रम गर्न लागिएको जनाइएको छ । माघ २५ देखि फागुन २२ सम्म सञ्चालन हुने खोप कार्यक्रममा जिल्लाका ४ हजार ४ सय ३ जना बालिकालाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस वर्षको लक्षित समूहमा जिल्लाभरका विद्यालयहरुमा कक्षा ६ मा अध्ययनरत ४ हजार २ सय ३० जना र विद्यालय नजाने १० वर्ष उमेरका १ सय ६ जना बालिकाहरु तथा अघिल्लो वर्षमा खोप लगाउन छुटेका ११ वर्षदेखि १४ वर्ष उमेर समूहका ५७ जना जनालाई एचपीभी खोप लगाइने निमित्त कार्यालय प्रमुख लक्ष्मण घिमिरेले जानकारी दिनुभएको छ । माघ २५ देखि २९ गतेसम्म जिल्लाका विद्यालयहरुमा कक्षा ६ मा अध्ययनरत बालिकाहरुलाइ खोप सेवा दिने र त्यसपछि फागुन २२ गतेसम्म जिल्लाका पालिकाहरु मार्फत विद्यालय नजाने १० वर्षका बालिकाहरुलाई खोप दिइने कार्यक्रम तोकिएको छ ।
भविष्यमा यौन कार्यमा सक्रिय हुनुपूर्वकै उमेरमा खोप लगाएर महिलालाई पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । नेपालमा हरेक वर्ष २ हजार १ सय ६९ जनालाई पाठेघरको मुखको क्यान्सर हुने गरेकोमा तीमध्ये १ हजार ३ हजार १३ जनाको मृत्यु नै हुने अनुमान रहेको जानकारी दिँदै घिमिरेले क्यान्सरकै कारण मृत्यु हुनेहरुमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो कारण रहेको तथ्याङ्कसमेत प्रस्तुत गर्नुभयो । ह्युमन प्यापिलोमा भाइरस नामक सो भाइरस महिलाको पाठेघरमा करिब २० वर्षसम्म रहँदा यसले क्यान्सर हुनेसमेत कार्यक्रममा जनाइएको छ ।
यो खोपबारे जनमानसमा विभिन्न भ्रमहरु फैलाइएकाले भ्रममा नपर्नसमेत कार्यक्रममा आग्रह गरिएको छ । तत्कालीन रुपमा खोप लगाउँदा दुख्ने, छाला रातो देखिने, रिङ्गटा लाग्नेलगायतका समस्या कसैकसैलाई देखिए पनि यसबाट केही पनि हानि नहुने स्वास्थ्यकर्मीहरुको भनाइ छ । पछिल्लो समय विश्वभर अत्यधिक समस्याको रुपमा रहेको पाठेघरको मुखको क्यान्सर नेपालमा समेत बढ्दै गएपछि नेपाल सरकारले पहिलो पटक आर्थिक वर्ष २०७६/०७७ मा खोप कार्यक्रम सुरु गरेको थियो । त्यसपछि आर्थिक वर्ष २०७९/०८० र तेस्रो पटक आर्थिक वर्ष २०८१/०८२ मा अभियानको रुपमा एचपीभी खोप कार्यक्रम सञ्चालन भएको थियो । यस वर्षबाट यो खोप कार्यक्रम प्रत्येक वर्ष नियमित सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।
खोप कार्यक्रमसँगै प्रत्येक वर्ष पाठेघर परीक्षण (स्क्रिनिङ) कार्यक्रम पनि जिल्लाका प्रत्येक पालिकाहरुमा सञ्चालन गर्दै आएको कार्यक्रममा जनाइएको छ । अन्तरक्रिया कार्यक्रममा डा. तारा बानियाँ, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष बासु खतिवडालगायत सञ्चारकर्मीहरुको सहभागिता थियो ।
