हेटौँडा : जेन्जी आन्दोलनका क्रममा भिमफेदी कारागार तथा बालसुधार गृह हेटौँडाबाट फरार भएका ३ जना कैदी–बन्दीलाई प्रहरीले पक्राउ गरेको छ ।
गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा भिमफेदी कारागारबाट विभिन्न मुद्दा तथा बालसुधार गृह हेटौँडाबाट फरार भएका एक बालकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा शनिबार र आइतबार फेला पारी नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा जबर्जस्ती करणी मुद्दाका बागमती गाउँपालिका–६ कैलेडाँडाका ३० वर्षीय मुन्ना स्याङ्तान र लागूऔषध ट्रामाडोल मुद्दाका हेटौंडा उपमहानगरपालिका–७ हरियालीका २२ वर्षीय विशाल गोले रहेका छन् । यसैगरी बालसुधार गृह हेटौँडाबाट फरार भएका लागूऔषध ब्राउन सुगर मुद्दाका एक जना बालकलाई समेत प्रहरीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका सबैलाई आवश्यक प्रक्रिया पूरा गरी भिमफेदी कारागार तथा बालसुधार गृह हेटौँडामा बुझाइएको प्रहरीले जनाएको छ ।
