आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीमा दलहरु जुटेका छन् । आजको ३१ दिनपछि मतदान भएर प्रतिनिधिसभाले नयाँ सदस्य पाउनेछ । देशभर १६५ क्षेत्रबाट पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीबाट १६५ जना र दलहरुले प्राप्त गरेको मत संख्याको आधारमा समानुपातिकबाट निर्वाचित हुने ११० जना गरी २७५ जना प्रतिनिधिसभा सदस्य चुनिनेछन् । प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि मुलुकले नयाँ सरकार पनि पाउनेछ । गत भदौको जेनजी आन्दोलनका कारण केपी ओली नेतृत्वको सरकारले राजीनामा दिएपछि सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो । चुनावी सरकार गठनलगत्तै प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनको लागि फागुन २१ गतेलाई मिति तोकिएको थियो ।
प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा निर्वाचनको तयारी पनि व्यापक बनिरहेको छ । देशभर ३ हजार ४ सय जनाभन्दा बढीले प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् । आगामी निर्वाचनमा देशभरबाट मतदान गर्न पाउनेको संख्या एक करोड ८९ लाखभन्दा बढी छ । देशभर १० हजार ९ सय ६७ मतदान स्थल र २३ हजार एक सय १२ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचन आयोगले समानुपातिकतर्फको मतपत्र छपाइ गरेर करिब २० जिल्लाको प्रत्यक्षतर्फको मतपत्रसमेत छपाइ गरिसकेको छ । निर्वाचन आयोगसँगै उम्मेदवारी दिएका राजनीतिक दल तथा उम्मेदवारहरुले पनि निर्वाचनको प्रचारप्रसारको तयारी गरिसकेका छन् । निर्वाचन आयोगले फागुन ४ गतदेखि औपचारिक प्रचारप्रसारको समय निर्धारण गरेको भए पनि राजनीतिक दल तथा उम्मेदवारहरु निर्वाचन क्षेत्रमा पुगेर मतदातासँग भोट माग्न थालिसकेका छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरका राजनीतिक दलहरु पनि आन्तरिक तयारीमा जुटेका छन् । नेपाली कांग्रेस मकवानपुरले निर्वाचनलक्षित पुनर्ताजगी तालिम तथा भेला गरिरहेको छ । उम्मेदवार तथा जिल्लास्तरीय नेतृत्व गाउँगाउँमा पुगेर स्थानीय नेता तथा कार्यकर्तासँगै मतदातासँग भेटघाट गरिरहेका छन् । नेकपा एमाले मकवानपुरले पनि वडास्तरमा निर्वाचन परिचालन कमिटी गठन गरिरहेको छ । एमालेका उम्मेदवारहरु पार्टीको पालिका तथा वडाका अगुवा कार्यकर्ता तथा मतदातासँग भेटघाट र छलफलको क्रममा छन् । नेपाली कम्युनिष्ट पार्टीले निर्वाचन प्रचारप्रसारका लागि स्थानीय कमिटीहरु गठन गर्ने काम गरिरहेको छ । उम्मेदवारहरु पालिका र वडा तहमा बैठक तथा भेलामा व्यस्त छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्ला निर्वाचन अनुगमन समिति र निर्वाचन परिचालन कमिटी बनाएर निर्वाचन प्रचारप्रसारमा अग्रसर भइरहेको छ । उम्मेदवारहरुले घरदैलोमा पुगेर मतदाता भेटघाट गरिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि एक हप्ताअघिबाटै घरदैलो सुरु गरिसकेको छ । पालिका तथा वडा तहमा मतदातासँग भेटघाट गरिरहेको छ ।
मकवानपुर जिल्लामा निर्वाचन जित्ने सम्भावना भएका कुनै पनि दलले घोषणापत्र सार्वजनिक भने गरेका छैनन् । उम्मेदवारहरुले आफ्नो लिखित प्रतिवद्धतासमेत जनाएका छैनन् । राजनीतिक दलहरुको केन्द्रमा नै घोषणापत्र तयार नभएका कारण जिल्लाका उम्मेदवारले पनि प्रतिवद्धतापत्र सार्वजनिक गरेका छैनन् । पार्टीको घोषणापत्र आएपछि जिल्लास्थित उम्मेदवारहरुले पनि आफ्ना एजेन्डा र प्रतिवद्धतापत्र सार्वजनिक गर्ने भएका हुन् । निर्वाचनमा एउटाले जित्ने भए पनि प्रमुख दावेदार सबै जित हासिल गर्ने उद्देश्यले सक्रिय बन्दछन् । राजनीतिक दल तथा उम्मेदवारको व्यक्तिगत प्रभावका आधारमा मतदाताले मत दिने भएकाले सबै उम्मेदवार मतदान गर्नु अघिसम्म पनि मतदातालाई प्रभाव पार्न सक्रिय बन्ने गरेका छन् । राजनीतिक दल तथा उम्मेदवारको तयारी तिब्र बन्दै जाँदा गाउँबस्ती सबैतिर चुनावी माहोल बढ्दै गएको छ ।
