हेटौँडा : मनहरी गाउँपालिका–१, मकरीस्थित बाल जीवनज्योति माविले कक्षा ८ तथा १० मा अध्ययनरत विद्यार्थी तथा अभिभावकसँग अन्तरक्रिया गरेको छ । अर्धवार्षिक परीक्षाको नतिजा वितरणसँगै वार्षिक परीक्षाको नतिजा सुधारका लागि विद्यालयले विद्यार्थी तथा अभिभावकहरुसँग अन्तरक्रिया गरेको हो ।
बिहिबार सम्पन्न अभिभावक भेलामा अभिभावकहरुसँग विद्यालयले दुइतर्फी रुपमा विद्यार्थीका समस्याहरु समाधानका लागि विश्लेषणसहित छलफल गरेको छ । कक्षा ८ को पालिकास्तरीय आधारभूत तहको परीक्षा र एसइईको नतिजा सुधारका लागि अभिभावक भेला गरेको विद्यालयले जनाएको छ । छलफलमा अधिकांश अभिभावकले बालबालिकाहरु मोबाइलमा अधिक समय बिताउने गरेको बताउँदै यसलाई रोक्ने उपायबारे समेत छलफल भएको थियो ।
विद्यार्थीको पठनपाठनमा ध्यान बढाउने उपाय बारे समेत अभिभावकहरुलाई शिक्षकहरुले समन्वय गरेका छन् । अघिल्लो वर्ष बालजीवन ज्योति माध्यमिक विद्यालयमा ४१ जनाले एसइई दिएकोमा १ जना ए प्लससहित १३ जना नियमित र मौका परीक्षामा थप १५ जना उत्तिर्ण भएका थिए । यस वर्षको वार्षिक परीक्षामा यो नतिजालाई अझै सुधार गर्न चाहेको विद्यालयले जनाएको छ । भेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष शिवप्रसाद खनाल, विद्यालयका प्रधानाध्यापक एकराज गौतम, विद्यालयका विषयगत शिक्षकहरु, विद्यार्थीहरु, अभिभावकहरुको सहभागिता थियो । यस्तै विद्यालयमा शुक्रबार विद्यालयका पूर्वविद्यार्थी रामशरण रिजालको अध्यक्षतामा १३ सदस्यीय बालजीवन ज्योति पूर्वविद्यार्थी समाज गठन भएको छ ।
