Home मुख्य समाचार संघकै कार्यालयमा कर्मचारी अभाव

संघकै कार्यालयमा कर्मचारी अभाव

शिक्षा विकास तथा समन्वय इकाईमा आएका सेवाग्राहीको भिड ।

हेटौँडा : प्रदेश सरकारले कर्मचारी र दरबन्दीमा कमी भयो भन्दै गर्दा संघीय सरकारअन्तर्गत मकवानपुरको एक कार्यालयले समेत कर्मचारी अभाव झेलिरहेको छ । मकवानपुरको शिक्षा विकास तथा समन्वय इकाईमा कार्यक्षेत्रको तुलनामा न्यून संख्यामा कर्मचारी दरबन्दी रहेको हो ।

कार्यालयमा प्रशासनिक कर्मचारी संख्या ५ जना, कार्यालय सहयोगी २ जना र सवारी चालक १ जना गरी जम्मा ८ जना कार्यरत छन् । कार्यालयमा प्रशासनिक कर्मचारीतर्फ उपसचिव स्तरको कार्यालय प्रमुख एक जना, शाखा अधिकृत २ जना र नायब सुब्बा २ जना गरी ५ जना कर्मचारी कार्यरत छन् । कार्यालयमा लेखा वा वित्तीय व्यवस्थापनसम्बन्धी कुनै शाखा छैन ।

कार्यालयमा लेखापालको समेत दरबन्दी नहुँदा संघीय कोष तथा लेखा नियन्त्रक कार्यालय हेटौँडाले नै वित्तीय व्यवस्थापन गर्दै आएको छ । कर्मचारी संख्या कम र जिम्मेवारी धेरै हुँदा समन्वय गर्न कार्यालयलाई धेरै नै असहज भएको कार्यालय प्रमुख सुदीप गिरी बताउनुहुन्छ । जिल्लाका दशै स्थानीय पालिकाहरुमा अवस्थित बिद्यालयको अनुगमन तथा सुपरीवेक्षण, स्थानीय तहको समन्वयमा शैक्षिक सेवा प्रवाह, जिल्लाभरका विद्यालयमा कार्यरत स्थायी शिक्षकहरुको नियुक्ति, सरुवा, बढुवा, राजीनामा स्वीकृत गर्ने, शिक्षकहरुको अभिलेखीकरण यस कार्यालयको प्रमुख कार्य हो ।

कार्यालयले कक्षा ९ को रजिष्ट्रेशन फर्म भराउने काममा समन्वय गर्ने, कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन गर्ने र कक्षा १२ को परीक्षा व्यवस्थापन गर्ने कामसमेत गर्दै आएको छ । यस्तै, शिक्षक सेवा आयोगको सम्पूर्ण तहका परीक्षा सञ्चालन र कक्षा ८ को प्रमाणपत्र प्रतिलिपि प्रदान पनि गर्ने गरेको छ । अध्यापन अनुमतिपत्र परीक्षा सञ्चालन तथा अनुमतिपत्र वितरणलगायतका नियमित सामान्य प्रशासनका कामहरु पनि कार्यालयले गर्दै आइरहेको छ । विभिन्न परीक्षाका कार्यक्रम नियमित चलिरहने प्रक्रिया भएपनि यसको छुट्टै शाखा छैन ।

‘नियमित प्रशासनिक र विभिन्न परीक्षा कार्यक्रमहरु सम्पन्न गर्दागर्दै कर्मचारीहरु जिल्लाका विद्यालय अनुगमन गर्न जान भ्याउँदैनन्’, इकाई प्रमुख गिरी भन्नुहुन्छ– ‘विद्यालयहरुमा अनुगमन तथा सुपरीवेक्षण गर्दा विद्यालयमा भएका समस्याबारे यकिन भई सुधार गर्ने मौका पाइन्छ । यसले विद्यालयहरुमा जागरुकतासमेत बढाउन मद्दत गर्छ । तर जाने समय नै नहुँदा स्थानीय तहहरुसँगको समन्वयमा अनुगमन गर्नै सकिएको छैन ।’ कार्यालयमा कर्मचारीमात्र कमी नभई काम गर्ने भवनका कोठाहरुसमेत साँघुरो हुँदा भिडभाडमा झनै समस्या पर्ने गरेको कार्यालयका शाखा अधिकृत उन्नती ढकालले बताउनुभयो ।

Exit mobile version