Home मुख्य समाचार नवोदयमा कफी हाउस कार्यक्रम सुरु

नवोदयमा कफी हाउस कार्यक्रम सुरु

हेटौँडा: हेटौँडा-४ स्थित नवोदय शिशु सदनमा विद्यार्थीका रचना प्रस्तुतीको कार्यक्रम कफी हाउस सुरु भएको छ। सोमबारबाट सुरु कफी हाउस कार्यक्रम माघ महिनाभर सञ्चालन हुनेछ। पहिलो दिन कक्षा-५ र कक्षा-८ का विद्यार्थीले कफी हाउसमा आफ्ना रचना प्रस्तुत गरेका छन् ।

कक्षा-१ देखि कक्षा-९ सम्मका एक हजार भन्दा बढी विद्यार्थीले कफी हाउसमा आफ्ना कथा, कविता, संस्मरण, निबन्ध, लेख प्रस्तुत गर्नेछन्। करिब एक महिनाको समयावधिमा विद्यार्थीले पुस्तक नै तयार गरेका छन् । उनीहरूले तयार पारेका पुस्तकमा समावेश रचना मध्ये कुनै एक रचना आफ्ना अभिभावकको समेत उपस्थिति रहने कफी हाउस कार्यक्रममा प्रस्तुत गर्छन् ।

नवोदय शिशु सदनकी सहायक प्रधानाध्यापक सचिता पाण्डेको अध्यक्षता तथा पत्रकार सुरेश श्रेष्ठको प्रमुख आतिथ्यमा यस वर्षको कफी हाउस कार्यक्रम सुरु भएको हो। कार्यक्रममा नवोदय शिशु सदनका प्रधानाध्यापक दिपेश जोशीको पनि आतिथ्य रहेको थियो। कफी हाउस कार्यक्रमलाई नवोदय शिशु सदनको आकर्षक कार्यक्रमको रुपमा प्रस्तुत गर्ने गरिएको छ । विद्यार्थीले नेपाली र अङ्ग्रेजी दुबै भाषामा आफ्ना रचना तयार पारेका थिए ।

Exit mobile version