हेटौँडा : हेटौँडा–५ स्थित ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्था तथा ज्ञानदीप शिक्षा (जीएस) निकेतनको रजत महोत्सवको अवसरमा आयोजित नगरस्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि हेटौँडा–५ स्थित ज्ञानोदय बालबाटिका आवासीय माध्यमिक विद्यालयले जितेको छ । शनिबार भएको फाइनल खेलमा हेटौँडा–१८ स्थित ज्योति माध्यमिक विद्यालयलाई ३–२ सेटले पराजित गर्दै उपाधि जितेको हो ।
ज्ञानोदयले पहिलो र दोस्रो सेट क्रमशः २६–२४, २५–२१ ले जितेर जित नजिक पुगिसकेको थियो । तेस्रो र चौथो सेट भने समान २२–२५ ले गुमाएपछि उपाधिको छिनोफानोका लागि अन्तिम सेट खेल्नु परेको थियो । निर्णायक सेटमा ज्ञानोदयले १५–८ ले नतिजा आफ्नो पक्षमा पार्दै उपाधि जितेको हो । उपाधिसँगै ज्ञानोदयले १५ हजार रुपैयाँ नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको ज्योति माविले १० हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
सेमिफाइनलमा पुग्न सफल सनसाइन इङलिस बोर्डिङ स्कुल र कृष्णआदर्श बोर्डिङ स्कुलले नगद पाँच÷पाँच हजार प्राप्त गरेको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडी ज्ञानोदय बालबाटिका आवासीय माविका ग्रिस्मन अर्याल घोषित भए र उनले नगद रु. २ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे । ज्ञानदीप रजत महोत्सव खेलकुद तथा अतिरिक्त क्रियाकलाप उपसमितिका संयोजक विश्वनारायण श्रेष्ठको अध्यक्षता एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यमा भलिबल प्रतियोगिताको समापन समारोह भएको थियो ।
यसअघि शनिबार बिहान सम्पन्न सेमीफाइनल खेलमा ज्योतिले हेटौँडा–३ स्थित सनसाइन इंग्लिस बोर्डिङ स्कूललाई २५–११, २५–२३ को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । यस्तै ज्ञानोदयले हेटौँडा–९ स्थित कृष्णआदर्श इंग्लिस बोर्डिङ स्कूललाई २५–१५, २५–१८ ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । प्रतियोगितामा ११ वटा टिमको सहभागिता रहेको थियो ।
