हेटौँडा : श्रीपञ्चमीको अवसरमा रौतहटका सोरुजकुमार साह हेटौँडामा सम्मानित हुनुभएको छ । शुक्रबार हेटौँडा–४ स्थित पुष्पलाल स्मृति पुस्तकालयले पुस्तकालयमा नियमित उपस्थित भएर पुस्तक पढ्दै पठन संस्कृतिलाई बढावा दिएको भन्दै साहलाई सम्मान गरिएको हो ।
स्थायी ठेगाना रौतहट भएका साह केही वर्षदेखि हेटौँडामा रहेर पुष्पलाल स्मृति पुस्तकालयमा नियमित पुस्तक पढ्दै आउनुभएको पुस्तकालयले जनाएको छ । साहित्य संगम मकवानपुर र पुष्पलाल स्मृति पुस्तकालयको संयुक्त आयोजनामा भएको सरस्वती पूजा, सम्मान तथा अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले पुस्तक अध्ययन नै ज्ञानको सबैभन्दा ठूलो स्रोत भएको बताएका छन् । पठन संस्कृतिले मानिसलाई अघि बढ्न तथा असल चरित्र निर्माणका लागि भूमिका खेल्ने बताउँदै यसका लागि पुस्तकले महत्वपूर्ण साथ दिने उल्लेख गरेका हुन् ।
साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार तुलसी घिमिरेको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा मकवानपुरका सक्रिय साहित्यकारहरु मुना अर्याल, सुवास खनाल, सानु खनाल, डा. विश्वनाथ सञ्जेल, पोखराकी साहित्यकार सरला लामिछाने, साहित्यप्रेमी मुक्तिगोविन्द बैद्यलगायत करिब ४० जना व्यक्तित्वहरुको उपस्थिति थियो ।
