हेटौँडा : आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशका १३ वटै जिल्लाहरुमा उम्मेदवारी दर्ता भएको छ । प्रदेशभर ३३ निर्वाचन क्षेत्रमा ७१९ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
जसमा काठमाडौं १० निर्वाचन क्षेत्रमा २२७ उम्मेदवार रहेका छन् भने ३ क्षेत्र रहेको चितवनमा ७३, ललितपुरका ३ क्षेत्रमा ६६ उम्मेदवार रहेका छन् । २ क्षेत्र रहेका जिल्ला भक्तपुरमा ५७, धादिङमा ४८, काभ्रेमा ४६, मकवानपुरमा ४५, नुवाकोटमा ३१, सिन्धुलीमा २८, सिन्धुपाल्चोकमा ३६, दोलखामा ३३, रामेछापमा १७ र रसुवामा १२ उम्मेदवार रहेका छन् । प्रदेशका हेभीवेट नेताहरुदेखि नयाँ तथा वैकल्पिक दल र स्वतन्त्र उम्मेदवारहरुले आफ्नो मनोनयन दर्ता गराएसँगै चुनावी सरगर्मी बढेको छ । विशेषगरी बागमती प्रदेशको काठमाडौं, चितवन लगायतका जिल्लामा कडा प्रतिस्पर्धा निश्चित रहेको छ ।
संघीय राजधानी समेत रहेको काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा प्रमुख दलहरुबीच कडा प्रतिस्पर्धा देखिएको छ । काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा एमालेका नेता ईश्वर पोखरेल र नेपाली कांग्रेसका प्रदीप पौडेल बीचको प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ । काठमाडौंका अधिकांश क्षेत्रमा वैकल्पिक पार्टीको रुपमा रहेको रास्वपाका उम्मेदवारको प्रतिस्पर्धाले पुराना दलका नेताहरुको चुनौती थपेको छ । राप्रपाका कमल थापा, रास्वपाका स्मित पोखरेल बीचको प्रतिस्पर्धा कडा हुने पक्का छ । काठमाडौं–४ मा नेपाली कांग्रेसले नयाँ उम्मेदवार खडा गरेको छ । कांग्रेस सभापति गगन कुमार थापा चुनाव लड्दै आएको सो क्षेत्रमा कांग्रेसका तर्फबाट सचिन तिमल्सेना र रास्वपाका पुकार बम तथा एमालेका राजन भट्टराई राप्रपाका सुरेन्द्र राजभण्डारी चुनावी मैदानमा उत्रिएका छन् ।
चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् । सोही क्षेत्रमा नेपाली कांग्रेसका मीना खरेल र एमालेका अस्मिन घिमिरे बीच रोचक भिडन्त हुने देखिएको छ । नेकपाका प्रताप तामाङ पनि सशक्त उम्मेदवार हुन् । यता चितवन ३ मा नेकपा एमालेका शंकर राज थपलिया र नेपाली कांग्रेसका टेक प्रसाद गुरुङ चुनावी दौडमा छन् भने सो क्षेत्रमा नेकपाकी उम्मेदवार रेणु दाहाल र रास्वपाकी सोविता गौतमको प्रतिस्पर्धा निर्णायक हुने मानिएको छ । राप्रपाका विक्रम पाण्डे यस क्षेत्रको सशक्त उम्मेदवार हुन् ।
नुवाकोट क्षेत्र नम्बर १ मा कांग्रेस नेता डा. प्रकाश शरण महत र नेकपा एमालेका बद्री मैनाली बीच प्रतिस्पर्धा हुने भएको छ भने धादिङमा पनि एमालेका भूमिप्रसाद त्रिपाठी र कांग्रेसका रामबहादुर भण्डारी तथा नेकपाका राजेन्द्र पाण्डे र रास्वपाकी आशिका तामाङ लगायतको प्रतिस्पर्धा रोचक हुने निश्चित छ । मकवानपुर १ मा नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय (डिना) चुनावी मैदानमा छिन् । उनी विरुद्ध राप्रपाका दीपक बहादुर सिंह, एमालेका रामेश्वर राना र नेकपाका विजय गौतम प्रतिस्पर्धामा छन् ।
ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. तोसिमा कार्की र नेपाली काँग्रेसका जितेन्द्र कुमार श्रेष्ठ बीच प्रतिस्पर्धा हुने देखिएको छ । ललितपुर १ मा नेपाली कांग्रेसका उदय शमशेर राणाले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । उनी विरुद्ध एमालेका चेतनाथ सञ्जेल उम्मेदवार रहेका छन् । सिन्धुपाल्चोक २ मा शेरबहादुर तामाङ, नेकपाका युवराज दुलाल र जंग बहादुर लामा बीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । काभ्रेमा एमालेका अशोक कुमार ब्याञ्जु श्रेष्ठ, नेकपाका बसुन्धारा हुमागाई र कांग्रेसका मधु प्रसाद आचार्य चुनावी मैदानमा छन् ।
