आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभर उम्मेदवारहरुको मनोनयन सम्पन्न भएको छ । निर्वाचनमा प्रतिस्पर्धा गर्न चाहने उम्मेदवारहरुले मंगलबार देशभरका सबै जिल्लाहरुमा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भएर मनोनयन दर्ता गराएका हुन् । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फबाट निर्वाचित हुने १६५ सदस्यका लागि देशभर ३ हजार ४८७ जनाको उम्मेदवारी दर्ता भएको छ । कुल उम्मेदवारमध्ये महिलाको संख्या ३९५ र पुरुषको संख्या ३ हजार ९२ रहेको छ । निर्वाचन आयोगका अनुसार २५ देखि ३५ वर्ष उमेर समूहका ६७ महिला र ५१५ पुरुष गरी ५८३ जनाको उम्मेदवारी दर्ता भएको छ । ३६ देखि ५० वर्षको उमेर समूहका २३५ महिलासहित कुल १ हजार ६१० जनाको उम्मेदवारी दर्ता भएको छ । ५१ देखि ६५ वर्षसम्मका १ हजार ९० जनाको मनोनयन दर्ता भएकोमा महिलाको संख्या ९० छ । ६५ वर्ष माथिका ३ महिलासहित २०१ जनाको उम्मेदवारी दर्ता भएको छ । ६८ वटा दलले निर्वाचनमा दुई हजार २९७ उम्मेदवार उठाएका छन् भने स्वतन्त्र उम्मेदवारी दिनेको संख्या एक हजार १८७ छ । समानुपातिकतर्फको ११० सिटका लागि भने ६३ राजनीतिक दलबाट ३ हजार २१३ जना उम्मेदवारको नाम पेस भएको छ ।
२ वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा पनि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवाहरुको मनोनयन दर्ता गराएका छन् । मकवानपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट २३ जना र क्षेत्र नम्बर २ बाट २१ जना गरी ४४ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । मनोनयन दर्ता गराउनेमध्ये क्षेत्र नम्बर १ मा १३ जना राजनीतिक दलका तर्फबाट र १० जना स्वतन्त्र उम्मेदवार छन् । क्षेत्र नम्बर २ मा १६ जना दलका र ५ जना स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता भएको छ । क्षेत्र नम्बर १ बाट ५ जना महिला र १८ जना पुरुषले उम्मेदवारी दर्ता गराएका छन् भने क्षेत्र नम्बर २ बाट २ जना महिला र १९ जना पुरुषको उम्मेदवारी दर्ता भएको छ । क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने ५ जना महिलामध्ये ३ जना दलीय उम्मेदवार छन् भने २ जना स्वतन्त्र छन् । यस्तै, क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने दुबै महिला स्वतन्त्र हुन् ।
यस पटकको निर्वाचनमा राजनीतिक दल तथा स्वतन्त्रबाट उत्साहजनक उम्मेदवारको मनोनयन दर्ता भएको छ । यसअघि २०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा देशभर दुई हजार ४१२ उम्मेदवारले प्रत्यक्षतर्फ मनोनयन पत्र दर्ता गराएका थिए । उक्त वर्ष समानुपातिक सूचीमा रहेका दुई हजार १९९ उम्मेदवारसमेत ४ हजार ६११ जनाको उम्मेदवारी दर्ता भएको थियो । यस्तै, २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ एक हजार ९४५ जनाले उम्मेदवार मनोनयन दर्ता गराएको थिए । उक्त वर्ष समानुपातिकतर्फ रहेका दुई हजार २७३ समेत ४ हजार २१८ उम्मेदवार चुनावी मैदानमा थिए । जेनजी आन्दोलनपछिको विशेष अवस्थामा हुन लागेको निर्वाचनप्रति उत्साह बढेका कारण उम्मेदवारको संख्या वृद्धि भएको हुनसक्छ । नयाँ राजनीतिक दलहरुको संख्या वृद्धि भएका र प्रमुख दलहरुबिच चुनावी तालमेल नभएका कारण पनि यस पटक विगतमा भन्दा धेरैको उम्मेदवारी परेको मान्न सकिन्छ ।
जेनजी आन्दोलनपछि युवाहरुमा राजनीतिक चेतना वृद्धि भएको कारण यस पटकको निर्वाचनमा युवा उम्मेदवारको संख्या पनि उल्लेख्य रहेको छ । पुराना र नयाँ सबै राजनीतिक दलहरुले युवा उम्मेदवारलाई प्राथमिकताका साथ निर्वाचनमा सहभागी गराएको देखिन्छ । चुनावी प्रतिस्पर्धामा युवाहरुको उपस्थिति बढे पनि महिलाहरु भने यस पटक पनि उपेक्षित बनेका छन् । सबैजसो राजनीतिक दलहरुको प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन हेर्दा महिलाको संख्या निकै कम रहेको पाइएको छ । उम्मेदवारी मनोनयनमा देखिएको उत्साहसँगै यस पटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रचारप्रसार र मतदानमा पनि व्यापक सहभागिता हुने अनुमान गर्न सकिन्छ ।
