हेटौँडा : कास्कीका निष्प्रभ सजीद्वारा लिखित ‘याली’ उपन्यासको समीक्षा सम्पन्न भएको छ । मंगलबार हेटौँडा–४ स्थित किताब घरको आयोजनामा भएको कार्यक्रममा मकवानपुरे समीक्षक एवम् साहित्यकार डा. निमेष निखिलले उपन्यासको समीक्षा गर्नुभएको हो ।
अङ्ग्रेजहरुले सन् १८३४ मा दास प्रथाको अन्त्य गरेपछि उपनिवेश कायम भएका देशहरुमा ज्यालादारी गर्ने मजदुरको रुपमा विदेशिएका नेपाली युवाको कथालाई उपन्यासले उजागर गरेको समीक्षक निखिलले जानकारी दिनुभयो । काम गर्ने मजदुरको अभाव भएपछि भारतमा रहेको ब्रिटिस औपनिवेशिक सरकारले ठूलो सङ्ख्यामा भारतीय तथा नेपालीहरुलाई पैसाको लोभ देखाएर विभिन्न देशमा पुर्याएको भए पनि फिजी पुगेका एक नेपाली युवाको कथालाई उपन्यासले मूल विषय बनाएको उहाँको भनाइ छ । ‘याली’ फिजी भाषाको शब्द रहेको र यसको अर्थ ‘हराएको’ निखिलले बताउनुभयो ।
‘उपन्यासमा कास्की जिल्लाको पहाडी ग्रामीण परिवेशमा बसोबास गर्ने अझ कालीगण्डकी वारिको बाहुन गाउँ र कालीपारिको थापा गाउँको कथा हो’, समीक्षक निखिलले भन्नुभयो– ‘यो उपन्यास कौतूहलपूर्ण कथाको साङ्गोपाङ्गो स्वरुप हो । उपन्यासमा राणाकालीन मुखिया प्रथा र त्यसभित्र रहेको शोषण, बाहुन र क्षेत्रीका बीच पाइने विभेद, नारी शोषणका तत्कालीन सामाजिक सन्दर्भ र ग्रामीण समाजको आर्थिक–सामाजिक–पारिवारिक सकसपूर्ण जीवनको चित्रण गरिएको छ ।’ प्रायः छोटा वाक्यहरु, काव्यात्मक भाषा, अलङ्कृत शैलीको प्रयोग, दार्शनिक ओज आदिका कारणले यो उपन्यास अत्यन्त आकर्षक बनेको समीक्षक डा. निखिलको भनाइ छ ।
उपन्यासका थुप्रै राम्रा पक्षहरु भएता पनि केहि वर्णविन्यासगत त्रुटिहरु सच्याउन छुटेको उहाँले औँल्याउनु भयो । बौद्धिक पाठकले हार्दिकतापूर्वक ग्रहण गर्ने यो उपन्यासले प्रारम्भिक तथा सामान्य पाठकलाई निराश बनाउन सक्ने सम्भावना पनि उत्तिकै रहेको उहाँले बताउनुभयो ।
उपन्यासकार निष्प्रभ सजीले उपन्यासमा भएका त्रुटिहरु दोस्रो संस्करणमा सुधार गरिने बताउनु भयो । आफूले भोगेको जीवनको भोगाइ र गरेको यात्राहरुबाट यो उपन्यास लेखेको उहाँको भनाइ छ । यो कथा समाज रुपान्तरणको एउटा भाग होस् भन्ने आफ्नो चाहना भएको उपन्यासकार सजीले बताउनुभयो ।
कास्कीको हेम्जामा जन्मिनुभएका उपन्यासकार सजी सपरिवार अस्ट्रेलियामा बस्नुहुन्छ । यो उहाँको दोस्रो उपन्यास हो । यो उपन्यास गत महिना प्रकाशन भएको थियो । उहाँको विसं २०६१ मा ‘भूपरिवेष्ठित खुट्टाहरु’, २०६७ सालमा ‘इजलासमा लाहुरे फूल’ कविता सङ्ग्रह र २०७२ सालमा पहिलो उपन्यास ‘डार्लिङ हार्बर’ प्रकाशित भएको छ ।
